हंस सहकारीद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
चितवन, नारायणगढ— भरतपुर-१/शहीदचोकमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ वर्ष २०८२ को शुभारम्भको अवसरमा सेवा केन्द्रस्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम हालै सम्पन्न गरेको छ । सहकारी सदस्यहरूबीच सहकारी शिक्षा र समसामयिक विषयमा सशक्त जानकारी प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम होटल गंगोत्री प्रा.लि., पुलचोक, नारायणगढमा सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले गर्दै सहकारी शिक्षालाई व्यवहारमै उतार्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले संस्थाले आगामी दिनमा पनि सदस्य सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । प्रमुख अतिथि चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडका अध्यक्ष भिष्म प्रसाद खनालले सहकारी आन्दोलनको सबल जग शिक्षाबाटै सुरू हुने बताउँदै यस्ता प्रतिस्पर्धात्मक कार्यक्रमले सदस्यहरूमा जिम्मेवारी र चासो थप वृद्धि गर्ने धारणा राखे ।
संस्थाको शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य र तयारीबारे जानकारी गराएका थिए। संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले संस्थाले शिक्षा, स्वास्थ्य, आर्थिक र सामाजिक पक्षलाई जोड्दै अघि बढिरहेको सन्दर्भमा यस्ता कार्यक्रमहरूले सशक्त समुदाय निर्माणमा सहयोग पुर्याउने बताए । संस्थाका प्रवन्धक नारायण प्रसाद सापकोटाले सहकारीले आफ्नो मूल उद्देश्यलाई प्रवर्द्धन गर्दै नवप्रवर्तनात्मक कार्यक्रमहरू संचालन गरिरहेको जानकारी दिए ।
प्रतियोगितामा विजयनगर सेवा केन्द्रका श्रीनिवास पौडेल, पुरूषोत्तम तामांग, सावित्री ढकाल, लक्ष्मी पौडेल र गकुल काप्रीको समूह प्रथम हुन सफल भयो भने द्वितीय स्थान प्रधान कार्यालय नारायणगढका लेखराम सापकोटा, कुल प्रसाद सुवेदी, बसन्तराज अधिकारी, लक्ष्मी लामिछाने र लक्ष्मी पौडेलको समुहले प्राप्त गर्न सफल भयो । प्रथम र द्वितीय स्थान प्राप्त गर्न सफल समुहलाई क्रमश : नगद रु. दश हजार र पाँच हजार सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको संचालन शिक्षा उपसमितिका सदस्य नेत्रबन्धु पोखरेलले गरेका थिए। कार्यक्रममा संस्थाका सचिव शारदा शर्मा पौडेल, लेखा समिति सदस्य कृष्णहरि तिमिल्सेना, सञ्चालकहरू प्रा. डा. होमनाथ सापकोटा, सन्देश पाठक, अनिता मैनाली, ध्रुवकुमार ओझा, सूर्य बराल लगायत उपसमितिका सदस्यहरू र सेयर सदस्यहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको संयोजन संस्थाको शिक्षा उपसमितिले गरेको थियो ।