Breaking News

भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन

काठमाडौँ/भृकुटीमण्डपको उद्यानमा भइरहेको ‘खाना महोत्सवमा इङ्वा सुब्बा कागुनो, याङ्बेन र मकैको खीर पकाउनमा व्यस्त हुनुुहुन्छ । छेवैमा पाक्दैछ तात्तातो सेल अनि लहरै राखिएका छन् थप परिकार । सिस्नुको सुप र च्याउ साँधेको परिकारले खानाका पारखीहरुको ध्यान गइरहेको देखिन्छ । खाना पारखीहरु स्वाद मानी मानी खाइरहेको देखिन्छन् ।

नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ बाट चिनिनुभएकी सुब्बाले आफूले शोमा बनाएको खीर सबैले रुचाउनुभएकोले महोत्सवमा यसको स्वाद चखाउन आएको बताउनुहुन्छ । रियालिटी शोमा आफ्नो समुदायको खानालाई पस्केर सबैको मन जित्नुभएकी उहाँले नेपाल रैथाने परिकारको धनी भएकाले यसलाई प्रवर्द्धन र संरक्षण गर्न सबैले लाग्नुपर्ने बताउनुहुन्छ । सुब्बा भन्नुहुन्छ, “हिमाल, पहाड र तराई सबै ठाउँको आआफ्नो खानाको विशेषता छ । हामीले सबै परिकारलाई थोरै मात्र परिस्कृत गरेर पस्किन सक्यौँ भने यसले अन्तरराष्ट्रिय बजारमा फैलिने मौका पाउन सक्छ ।”

उहाँको छेवैको स्टलमा नेवारी परिकारहरु बारा, योमरी, छोयला राखिएका छन् । खोकनाको तोरीको तेल, बेसार आदि पनि स्टलमा बेच्न राखिएको छ । भिलेज क्याफेकी पुनमाया डङ्गोलले नेवारी परिकारहरुलाई प्रवर्द्धन र यसको स्वाद सबैमाझ पु¥याउन महोत्सवमा सहभागी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “क्याफेमा त थुप्रै परिकारहरु पाइन्छन् । आज भने हामीले यति मात्र ल्याएका छौँ । नेवारी परिकारहरु धेरैको जिब्रोमा झुण्डिएको छ । धेरैले रुचाइ दिनुभएको छ ।”

विगत डेढ वर्षदेखि टोखामा ‘आरोग्य कर्णाली अर्गानिक प्रालि’ सञ्चालन गर्दे आउनुभएकी सीता आचार्य मौरी संरक्षणकर्मी हुनुहुन्छ । उहाँसँग १५० वटा मौरीका घार छन् । उहाँले मौरीपालनका साथै कर्णालीमा पाइने विभिन्न रैथाने अन्नबालीहरुको ब्रान्डिङ गरेर बेच्दै आउनुभएको छ । उहाँको स्टलमा मह, कागुनो, चिनो, मार्सी, फापरको पिठो, कोदो, मकैको च्याख्ला, सातु, गुन्दु्रकलगायत २० प्रकारका सामग्रीहरु छन् । आचार्यका अनुसार चिनो, कागुनो, कोदो र फापरको माग बढी रहेको छ । “यी अन्नहरु मधेमेह, उच्च रक्तचापका बिरामीलाई खान मिल्छ । कतिलाई थाहा छैन । थाहा हुनेले खोजेर खानुहन्छ”, उहाँ भन्नुहुन्छ ।

परम्परागत र मौलिक खानाको सङ्गम रहेको खाना महोत्सवमा मोही पनि बिक्रीका लागि राखिएको छ । ओखलढुंगे डेरी एण्ड एग्रीफुड प्रालिले दुग्धजन्य पदार्थहरुलगायत मिठाइ, आइसक्रिम, भुजिया, निम्किी, पनिर तथा चिज मःम बेच्दै आएको छ । डेरीका सञ्चालक गोपाल तिमिल्सनाले बजारमा पाइने विभिन्न पेयपदार्थभन्दा कैयौँ गुणा मोही स्वस्थ्यकर भएकाले यसको ब्राण्डिङमा लागेको सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “स्थानीय उत्पादन मोहीलाई प्रवद्र्धन गर्ने उद्धेश्यले प्याकिङ गरेर बेच्दा स्वास्थ्यलाई राम्रो हुने र आफ्नो स्थानीय उत्पादनको खपत हुने उद्देश्यले हामीले सुरु गरेका हौँ । गुलियो चिसो पेयपदार्थभन्दा गर्मीमा मोहीले शितल गराउँछ ।”

अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरीराज भट्टले यो महोत्सव परिकारहरुको प्रदर्शनी मात्र नभइ नेपाली सेफहरुको पहिचान, प्रतिभा, मिहिनेत र सिर्जनशीलताको सजिव दस्तावेज रहेको बताउनुहुन्छ ।

भट्टले नेपाली पाककलामा स्वाद, विविधता, मौलिकता अद्वितीय भए पनि अन्तरराष्ट्रियस्तरमा स्थापित गर्नु चुनौतीपूर्ण भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विश्वसामू चिनाउने हाम्रो सपना हो । यसका लागि सबैको समर्पण र सहकार्य आवश्यकता छ ।”

खाना महोत्सवले परम्परागत, रैथाने स्वादसँग आधुनिक परिकारको प्रर्दशनी र नेपालभित्रको पाककलाको सम्भावनाको उज्यालो चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ । महोत्सवमा ५० वटा स्टल, (४) वटा खानाका ५ वटा रैथाने बाली नालीको प्रदर्शन, पाँच वटा पर्यटन जानकारी रहेको छ । खानाका स्टलमा विभिन्न जात जातिको खाना (नेवारी, थारु, राई लिम्बु, थकाली, आदि)को परिकारहरु राखिएको छ । रासस

sahid diwas