उद्योग वाणिज्य संघ चितवन बन्यो देशमै उत्कृष्ट, प्रधानमन्त्रीद्धारा सम्मानपत्र प्रदान

भरतपुर/चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवन देशमै उत्कृष्ट संघ हुन सफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकोे ५९ औँ वार्षिक साधारण सभामा ‘क’ वर्गका उद्योग वाणिज्य संघहरु मध्य उद्योग वाणिज्य संघ चितवनले उत्कृष्ट संघको सम्मान प्राप्त गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभयो ।

उद्योग वाणिज्य संघ चितवन औद्योगिक तथा व्यवसायिक विकासमा ,चितवन जिल्लाको सामाजिक आर्थिक विकास, राजश्व सम्बन्धी नीति नियममा गरेको वकालत, चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधिको विकासमा खेलेको भूमिका, सचिवालय, संघका सदस्यहरु लगायत विभिन्न विधाहरुको मूल्याङ्कन गर्दा ‘क’ वर्गका उद्योग वाणिज्य संघहरु मध्य उत्कृष्ट हुन सफल भएको हो । बर्तमान कार्यसमितिको कामको मूल्याङकन गरेर महासंघले सम्मानित गरेकोमा खुसी लागेको अध्यक्ष सुमनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले वर्षभरीको गतिविधिलाई आधार मानेर छानोट समितिले उत्कृष्ट घोषित गरेको जानकारी दिनुभयो । बर्तमान कार्यसमितिले व्यबसायीका लागि कर सम्बन्धि छलफल,अन्तरक्रिया र सहजिकरणका काम तीब्र गतिमा गरेको बताउनुभयो । उद्योग वाणिज्य संघ चितवन यसअघि राजन गौतम अध्यक्ष भएको समयमा उत्कृष्ट संघको रुपमा सम्मानित भएको थियो ।

उद्योग वाणिज्य संघ चितवनले सदस्यहरुको माग बमोजिम परामर्श गरेर कार्यक्रमहरु गरिरहेको कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनुभयो । “हामीले सरकारी निकायसंग समन्वय गरेर व्यवसायी मैत्री काम गरिरहेका छौं,उहाँले भन्नुभयो,यो बर्ष कर अभियाननै सञ्चालन ग¥यौं ।” उवासंघ चितवनले आगामी वर्षको बजेटका लागि उद्योगी व्यवसायीको माग सहितका ५१ बुँदे सुझाब सरकारलाई पठाएको समेत केसीले बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायीमा ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने सङ्कल्प प्रकट भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्र विकासका लागि आत्मविश्वासका साथ अघि बढेकाले सरकार त्यसलाई सघाउन तयार रहेको स्पष्ट गर्नुभयो । “सरकार र निजी क्षेत्रको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश बनाउनुपर्छ । तीव्र गतिमा विकास गर्नुपर्छ । हामीले स्वदेशी वस्तुको प्रयोगलाई बढाएर लाँदा गर्व महसुस गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “निजी क्षेत्रले सरकारलाई प्रेरित गरोस् । यसका लागि कुनै आन्दोलन गरिरहनुपर्ने छैन । यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो ।”

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधारलाई निरन्तरता दिएको बताउनुभयो ।उहाँले लगानीसम्बन्धी ऐन कानुनलाई समयसापेक्ष बनाउने, एकल विन्दु सेवालाई प्रभावकारी बनाउने र विदेशी लगानी आकर्षित गर्न विशेष पहल गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निजी क्षेत्रलाई लगानी गर्न र उद्यमशीलता विकास गर्न प्रोत्साहित गरिरहेका छौँ, सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएको छ, औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, विद्युत् आपूर्तिमा सुधार, सडक र यातायातको विकास तथा सूचना प्रविधिको विस्तारलाई उच्च प्राथमिकता दिइएको छ, यी पूर्वाधारहरूले उद्योग व्यवसायको लागत घटाउन र उत्पादन क्षमता वृद्धि गर्न मद्दत पुर्याउने छन् ।” मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको मन्त्री भण्डारीको भनाइ छ ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयास सकारात्मक रहे पनि युवाहरुको चाहना पूरा गर्न पर्याप्त नरहेको बताउनुभएको छ । उहाँले आफू प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी रहेको जिकिर गर्दै देशमै आशा जगाउनका लागि काम गरिरहेको बताउनु भयो । उहाँले देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरु सिर्जना गर्न नसकेसम्म निराशालाई आशामा बदल्न नसकिने बताउनु भयो । उहाँले रोजगारी प्रदान गर्न सरकारको सिमितता रहेको भन्दै अहिले करिव पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको उल्लेख गर्नुभयो । निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको भएपनि हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिव पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि नरहेको जिकिर गर्नुभयो ।

सो अवसरमा उद्योग वाणिज्य संघ चितवनबाट अध्यक्ष श्रेष्ठको नेतृत्वमा निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र उपाध्यक्ष अशोक अधिकारीको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभयो । उद्योग बाणिज्य संघ चितवनमा ४ हजार सदस्य रहेका छन ।

sahid diwas