हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए
काँक्रेविहार,(सुर्खेत)/डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो धुव्र संरक्षणले हिउँ चितुवाको अध्ययन गर्दा नाम्खा गाउँपालिकामा ३९ हिउँ चितुवा रहेको पत्ता लागेको छ ।
‘क्यामरा ट्र्यापिङ’ प्रविधिको प्रयोग गरेर सन् २०२२ देखि २०२३ सम्म दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गरिएको थियो । अध्ययनअनुसार उत्तरी नाम्खा गाउँपालिकामा कम्तीमा ३९ हिउँ चितुवा रहेको पत्ता लागेका सहायक वन अधिकृत बाबुलाल बम्जनले राससलाई बताउनुभयो ।
हिउँ चितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले नाम्खा क्षेत्रमा ६१ वटा क्यामेरा जडान गरेर हिउँ चितुवाको अध्ययन गर्दा ३९ हिउँ चितुवा कैद गरिएको बताउनुभयो । हुम्ला सदरमुकाम सिमीकोटदेखि पाँच दिन पैदल हिँडेर लिमी पुगिसकेपछि घोडा खच्चरमा खानेकुरा बोकेर हिउँ चितुवा पाइने स्थानमा पुग्ने उहाँले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले हिउँ चितुवाको तथ्याङ्क ल्याउने कार्य सकिएको बताउनुभयो । यस्तै, माथिल्लो डोल्पामा हिउँ चितुवा पाइएसँगै हुम्लामा पनि पाइने अनुमानका आधारमा हिउँ चितुवाको गणनाको काम गरिएको थियो । गाउँपालिकाले पनि अब हिउँ चितुवा संरक्षणका लागि कार्यक्रम बनाउने अध्यक्ष लामाले जानकारी दिनुभयो ।
नाम्खाभित्रको मात्र अध्ययन गरिएको सहायक वन अधिकृत बम्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना तथा संरक्षणलाई प्राथमिकतामा राखेको छ ।” चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खामा छ वडा रहेका छन् । कुल क्षेत्रफल करिब दुई हजार ४१९ दशमलव ६४ वर्ग किमी रहेको छ । रासस