प्रतिनिधिसभा बैठक आज पनि बस्दै, दुई दिन देखी अवरुद्ध संसद
काठमाडौं/प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ, गृह, भौतिक पुर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) बिधेयक, २०८०’ का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिने भएको छ ।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्ने छन् ।
साथै, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाले ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी बिधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
हिजो बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो २ बजे बस्ने भनिए पनि बैठक बस्न नसके पछि आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भएपछि बैठक बुधवारदेखि अवरुद्ध हुँदै आएको छ । बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग हिजो दिनभर छलफल गरे पनि हल निस्कन सकेन ।
प्रतिपक्षी दलले घिसिङलाइ हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनु पर्ने माग गरिरहेका छन् तर प्रधानमन्त्री ओलीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसदमा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन् । उनले आफुले घिसिङ हटाउने बिषयमा संसदमा जवाफ नदिने बताएपछि सत्ता पक्ष र प्रतिपक्ष बिच टक्कर जारी रहेको छ ।