स्पाका ग्राहकलाई ‘थप सेवा’ को नाममा यौनधन्दा, नाबालिकालाई जवर्जस्ती काममा लगाउने सञ्चालिकाविरुद्ध मुद्दा
काठमाडौं/स्पामा काम गर्ने बहानामा नाबालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा स्मृति भन्ने रमिला गौतमविरुद्ध सरकारी वकिलले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका छन्। सोमबार दायर अभियोग पत्रमा उनीमाथि नाबालिका बेचबिखन तथा जबरजस्ती यौन व्यवसायमा संलग्न गराएको आरोप लगाइएको छ।
गौतमले ठमेलको सात घुम्तीमा हिमालयन नेचुरल स्पा सञ्चालन गरेर १६ वर्षीया एक किशोरीलाई राम्रो तलबसहित काम दिने प्रलोभनमा पारेर यौन शोषणमा धकेलेको अभियोग लगाइएको हो। उनले प्रारम्भमा स्पामा आउने ग्राहकको सेवा गर्ने भनेर काममा लगाउने र पछि ‘थप सेवा’ खोज्ने ग्राहक आएमा तीन देखि पाँच हजारसम्म आउँछ, त्यो आधा(आधा बाँडौला भनेर युवतीलाई यौन धन्दामा लगाउने गरेको अभियोग पत्रमा उल्लेख छ।
कसरी युवतीलाई जालमा पारिन्छ ?
अभियोग पत्रमा उल्लेख भएअनुसार रमिला गौतमको गिरोहले नाबालिकालाई स्पामा काम गर्ने भनेर झुक्क्याएर जवर्जस्ती ग्राहकहरूसँग यौन सम्बन्ध राख्न बाध्य पारेकी थिइन्।
उनले युवतीहरूलाई मसाज, मेकअप, वा ब्युटी पार्लरको काम छ भनेर फकाउने, २० हजारसम्म तलब दिने आश्वासन दिएर काममा लगाउने र पछि ग्राहकहरूले ‘थप सेवा’ खोज्छन् भन्दै यौन सम्पर्कका लागि दबाब दिने गरेको अभियोग पत्रमा देखिन्छ।
युवतीले अस्वीकार गरेमा गाली, धम्की, शारीरिक यातना दिएर बाध्य पार्ने गरेको, ‘तिमीलाई बाहिर गए कसैले पत्याउँदैन। प्रहरीलाई भन्यौ भने जेल जान्छौ’ भनेर डर देखाउने गरेको समेत अभियोग पत्रमा उल्लेख छ।
ग्राहकहरूसँग बस्न र यौन सम्बन्ध राख्न बाध्य बनाउने, तलब नदिने अनि मोबाइल फोन समेत खोस्ने गरेको अभियोग पत्रमा उल्लेख छ।
‘मलाई स्पामा सामान्य काम मात्र गर्नुपर्ने भनिएको थियो। तर, केही दिनपछि ग्राहकहरूलाई यौन सेवासमेत दिन बाध्य बनाइयो’ पीडित किशोरीको बयानमा भनेकी छिन् ‘मैले अस्वीकार गर्दा रमिला दिदीले धम्क्याइन्, कहिलेकाहीँ कुटपिट पनि गरिन। बिरामी हुँदा पनि ग्राहकसँग बस्न पठाइन्थ्यो।’
अनुसन्धानमा भेटिएका प्रमाण
रमिलाले बयानमा रमिला गौतमले आफू निर्दोष रहेको दाबी गरेकी छिन्। उनले ‘मेरो स्पामा मसाज मात्र गरिन्छ, युवतीहरूले ग्राहकहरूसँग आफ्नै मर्जीले बस्छन्’ भन्ने दाबी गरेकी छिन्। तर, प्रहरीको अनुसन्धानले उनको भनाइलाई गलत प्रमाणित गरेको छ।
अभियोग पत्रमा समावेश गरिएको अभियोग पत्रमा पीडित किशोरीको बयान, उनको स्वास्थ्य परीक्षण रिपोर्ट जसमा चोटपटक भेटिएको उल्लेख छ, रमिला गौतमको मोबाइलमा ग्राहकहरूसँग यौन सेवाको बार्गेनिङ भएको प्रमाण, सिसिटिभी फुटेजमा युवतीहरूलाई जबरजस्ती पठाएको दृश्य र ग्राहकसँग गोप्य भाषा प्रयोग गरी भएको कुराकानीको कल डिटेल समावेश छ।
नेपालको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन, २०६४ अनुसार कसैलाई जवर्जस्ती यौन व्यवसायमा लगाए १५ वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी प्रावधान छ। यस्तोमा ५० हजारदेखि एक लाखसम्म जरिवाना हुनसक्छ। उकेराबाट