ओली–प्रचण्ड व्यक्तिगत तहमै ओर्लेर आरोप–प्रत्यारोपमा
काठमाडौं/प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीबिच पछिल्ला दिन फेरि घोचपेच र आरोप–प्रत्यारोप चल्न थालेको छ ।
केही समय सत्ता सहकार्य गर्दा ‘चुपचाप’ देखिएका यी दुई ठुला कम्युनिस्ट पार्टीका अध्यक्षहरू पुनः सत्ता र सत्ताबाहिर हुनासाथ दोषारोपणमा उत्रिसकेका छन् ।
झन्डै ८ महिनाअघि असार १७ मध्यरातमा एमाले कांग्रेस सात बुँदे सहमति गरेर ओली प्रधानमन्त्री बनेपछि यी दुई नेताबिच सम्बन्ध बिग्रिएको थियो । जुन उनीहरूकै बारम्बारको अभिव्यक्तिले पुष्टि गर्छ ।
प्रचण्डले वर्तमान सरकार र गठबन्धनलाई अप्राकृतिक, अपारदर्शी र संविधान विपरीत भन्न थालेका छन् भने ओलीले प्रचण्ड र उनको दललाई सत्ताविमुख हुँदाको ‘छटपटी’का रूपमा अर्थ्याइरहेका छन् ।
राजनीतिक रूपमा ओली र प्रचण्डबिचको यस्ता आरोप–प्रत्यारोप खासगरी सत्तागठबन्धन नहुँदा बढी देखापर्छ । र यो सामान्य पनि भइसक्यो । तर व्यक्तिगत तहमै ओर्लेर एकअर्कामाथि हिलो छ्याप्नेगरी ओर्लिनु नेपाली राजनीतिमा देखिएको विचलन भएको राजनीतिकशास्त्र प्राध्यापकहरू तर्क गर्छन् ।
असार १७ पछि अध्यक्ष प्रचण्डले ओलीलाई जालीझेली, बेइमान र फटाहाको संज्ञा दिँदै आएका छन् भने ओलीले प्रचण्डलाई ‘राजावादी’सम्म भन्न भ्याइसके ।
गत माघ २२ गते म्याग्दीमा पार्टीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भनेका थिए, ‘एमालेको नेता जो अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ उहाँले यति धेरै ढाँट छल, जालझेल गर्नुभएको छ, मलाई त गर्नसम्मै गर्नुभयो !’
ओलीले सत्तागठबन्धन परिवर्तन गर्नेबेलामा आफूसँग भएको स्वर्ग र नर्कको कुरा उप्काउँदै प्रचण्डले प्रश्न गरेका थिए, ‘उहाँ हस्ताक्षर गरेर आएर पनि गरेकै छैन भन्नुहुन्छ । पत्रिकामा फोटो छापिसक्यो, यो कहिलेको छाप्यो ? यो झुटो फोटो भन्नसक्ने भनेपछि यस्ता जालीझेली र यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ?’
ओली प्रधानमन्त्री बन्नु देशका लागि योभन्दा ठुलो दुर्भाग्य अरू केही नभएको प्रचण्डले बताएका थिए ।
त्यतिमात्रै होइन, कांग्रेस–एमालेको गठबन्धन पारदर्शी र लोकतन्त्रवादी भएको भए दिनको उज्यालोमै सहमति गर्नसक्नेमा त्यसो नगरी मध्यरातमा सहमति गरेबाटै पनि प्रश्न गर्ने ठाउँ रहेको प्रचण्डको दाबी छ ।
ओली पनि के कम ? फागुन ५ गते दाङ पुगेर प्रचण्डलाई आफूमाथि लगाएको जवाफ फर्काउने प्रयास गरे । ओलीले दाङमा प्रचण्डलाई राजासँग साठगाँठ गरेको संज्ञा दिँदै उनै प्रचण्डले अहिले लोकतन्त्रको दुहाई दिन नमिल्ने र धेरै नबोल्न चेतावनी नै दिए ।
नेकपा (एमाले) जिल्ला कमिटी दाङले घोराहीमा गरेको कार्यक्रममा ओलीले प्रचण्डलाई पूर्वराजासँग सम्झौता गरेर लोकतन्त्र मास्न हिँडेको र बाध्यताले लोकतन्त्रको पक्षमा सम्झौता गरेको आरोप लगाए ।
‘उल्टै लोकतन्त्रका मसिहा ?’, ओलीले प्रचण्डलाई प्रश्न गर्दै भनेका थिए, ‘गणतन्त्रका लागि कहिले लडेका थिए ? राजासँग साँठगाँठ गरेर सम्झौता गरेको होइन ?’ त्यस्ता निर्लज्ज मान्छेहरूले लोकतन्त्रका बारेमा दुहाइ हामीलाई दिने ?’
त्यतिमात्र होइन, ओलीले धेरै नबोल्न र बोले विगतका षड्यन्त्रको पर्दाफास गरिदिने चेतावनी पनि दिएका थिए ।
‘प्रचण्डजीलाई म भन्न चाहन्छु त्यस्ता बकवास गरेर नहिँड्नुस् । धेरै कुराहरूको, षड्यन्त्रहरूको पर्दाफास गर्न नपरोस्’, ओलीको चेतावनी थियो ।