र्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
चितवन/चितवन राष्ट्रिय निकुञ्जमा खोरमा सात वटा बाघ पालिएका छन् । ती बाघलाई दैनिक पाँच किलो मासु खुवाउनुपर्ने हुन्छ । कार्यालयको वार्षिक बजेटले दुई महिना मात्रै पुग्ने गर्दछ । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा बाघको आहारका लागि रु चार लाख ३८ हजार बजेट निकासा भएको छ । एक महिनामा सात वटा बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक रु दुई लाख दुई हजार ५०० खर्च हुन्छ । साउन र भदौको मासुको भुक्तानी भएको भए पनि त्यस यताको भुक्तानी हुन सकेको छैन ।
बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि भुक्तानी गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । निकुञ्जको कसरामा तीन, देवनगरमा दुई र सौराहामा दुई बाघ खोरमा छन् । झण्डै दुई महिनाअघि माडीमा नियन्त्रणमा लिइएको बाघलाई राख्ने ठाउँ नभएर पर्सा पठाइएको थियो । उहाँले भन्नुभयो, “हामीसँग खोरमा राखिएका बाघको आहारा र आवश्यक परेमा नियन्त्रणमा लिएर थप बाघ राख्ने ठाउँ छैन ।” वर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उहाँले बताउनुभयो । थप बजेटका लागि निकुञ्जले विभागमा पत्राचार गर्ने तयारी गरेको छ ।बाघ हिंस्रक बनेमा नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा बयस्क १२८ बाघ रहेका छन् ।रासस