रवि लामिछाने मुद्दा प्रकरणः प्रतिवेदन बुझाउने गरि छानविन समितिले सुरु गर्‍यो काम।

चितवन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध लगाएको ठगी अभियोजनको विषयलाई लिएर अनुसन्धान गर्न बनेको छानबिन समितिले काम अघि बढाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले बुझाएको अभियोजनामा रविलाई संगठित अपराधमा नसमेटि सहकारी ठगीमा मात्रै अभियोजन दर्ता गरेपछि महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले तत्कालै आफ्नो काम सुरु गरि सकेको छानबिन समितिका सदस्य सह–न्यायाधिवक्ता सूर्यराज दाहालले जानकारी दिए । उनले प्रहरीले बुझाएको प्रतिवेदन र सरकारी वकिल कार्यालयले दर्ता गराएको अभियोजनलाई अध्ययन गर्ने काम भइरहेको बताए ।

छानबिन समितिले काठमाडौँमै रहेर काम गर्ने उनले बताए । उनले छिट्टै काम सकेर सरकारलाई प्रतिवेदन बुझाउने बताए । सरकारी वकिल कार्यालयले हिजो लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पुरक मुद्दा दर्ता गरेको थियो । त्यसअघि गत असोज ८ गते साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थाका पीडित बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवि राइसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको थियो । त्यसबेलाका १७ जना र अहिले थप १५ सहित ३२ जनाविरुद्ध मुद्दा चलेको हो ।

चितवन प्रहरीले ३२ जनालाई नै सहकारी ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलले रवि लामिछानेसहित २० जनालाई ठगी मात्रै अभियोजन दर्ता गरेर संगठित अपराध कसुरबाट उन्मुक्ती दिएपछि सरकारले छानबिन समिति नै बनाएको हो ।

छानबिन समितिमा नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा, सह न्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौंडाका सहन्यायाधिवक्ता इश्वरीप्रसाद ढकाल र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेका छन् ।

लामिछानेविरुद्ध संगठित अपराधमा नगरी ठगी मुद्दामा मात्रै अभियोजन दर्ता गरेपछि हिजो साँझ नै जिल्ला न्यायाधिवक्ता लुइँटेललाई चितवनबाट सरुवा गरिएको थियो । लुइँटेलको स्थानमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका न्यायाधिवक्ता रवि न्यापाने चितवन आइपुग्नुभएको छ ।