भरतपुर मेयर्स कप क्रिकेटको लिग चरणको समूह विभाजन
चितवन/ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणको समूह विभाजन गरिएको छ ।
लिग चरणमा सहभागि १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसमध्ये समूह ‘ए’लाई ‘ग्रुप अफ देथ’को रुपमा हेरिएको छ । यस समूहमा पहिलो संस्करणको विजेता अर्किड स्कुल, उपविजेता वाल्मीकि शिक्षा सदन, नारायणी पब्लिक इङलिस स्कुल, चितवन मावि र हिमालय दण्डपानी मावि रहेका छन् ।
यस्तै समूह ‘बी’ मा पहिलो संस्करणको सेमीफाइनलमा पुग्न सफल सनराइज इङलिस स्कुल, अरोमा इङलिस स्कुल, प्रेरणा इङलिस बोर्डिङ स्कुल, नारायणी नमुना मावि र लक्ष्मी मावि लंकु रहेका छन् । लिग चरणका खेलहरु माघ २३ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा सुरु हुनेछ ।
प्रतियोगितामा नकआउट छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश गरेका हुन् । साविक विजेता, उपविजेता र सेमीफाइनलमा पुगेका अन्य दुई टिम गरी ४ टिमलाई सिधै लिग चरणमा स्थान दिईएको थियो । तीन चरणको छनोट प्रतियोगितामा ४३ विद्यालयको सहभागिता थियो ।
लिग चरणमा समूह ‘ए’ र ‘बी’मा रहेका पाँच/पाँच टिमले एक अर्काविरुद्ध खेल्नेछन् । समूहका उत्कृष्ट दुई टिम सेमीफाइनलमा प्रवेश गर्ने छन् । लिग चरणका खेलहरु ३० ओभरको हुनेछ । सेतो जर्सी र रातो बलमा खेलाइने भएकाले लिग चरणका खेलहरु टेष्ट क्रिकेटको झल्को दिने आयोजकले जनाएको छ । यसले युवाहरुलाई लामो इनिङ खेल्न प्रोत्साहन मिल्नेछ ।प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् ।