चितवन महोत्सवमा भोलि रचना रिमाल आउँदै, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम ?
चितवन/उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।
महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको बाह्रौं दिन भोलि माघ ७ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
महोत्सव सांस्कृतिक समिति संयोजक नारायण प्रधानका अनुसार भोलि ११ः३० बजेपछि कलाकार प्रजापती पराजुली र शान्तारानी परियारको प्रस्तुती रहने छ । त्यसैगरी २ः३० बजेपछि रचना रिमालको प्रस्तुती रहने छ । त्यसैगरी समय समयमा स्थानीय कलाकार निश्चल मगर र सम्झाना श्रेष्ठको प्र्रस्तुती रहने छ ।
त्यसैगरी भोलि समय समयमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल बोटे समाज चितवन, दासढुङ्गा युवा क्लव, नेपाल मगर संघ, तमु ह्युला छोंज धीको प्रस्तुती रहने छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता भालि पनि जारी रहने छ । दोहोरी प्रतियोगिताको फाइनल माघ ८ गते हुने छ ।
पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल भोलि माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन भइरहेको छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।