सरकारले संसद बैठक नबोलाए माओवादीले बोलाउँछः अग्नि सापकोटा
काठमाडौं/नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए आफूहरू केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् ।संघीय संसद्मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै पूर्वसभामुख समेत रहेका सापकोटाले यस्तो बताएका हुन् । विपक्षी दलहरूले त्यसको तयारी गरिरहेको र सातवटै प्रदेशमा विशेष अधिवेशन बोलाउने पनि उनले जिकिर गरे ।
‘अब बानेश्वरमा ३२ जनाले आगो बाल्नेछन् । सबै विपक्षी मोर्चाहरूको बैठक तपाईंहरूले सुनिरहनु भएको छ, सदन बोलाएन भने,’ सापकोटाले भने, ‘संविधानमा व्यवस्था छ, २५ प्रतिशतले सदन बोलाउन पाइन्छ । अब हामी बोलाएनन् भने भोलि पर्सि नै सदन बोलाउनेछौं ।’ सदन बोलाएको पहिलो दिन नै आफूहरूले आगो बाल्ने उनको दाबी थियो ।‘हामीले सदन बोलाएपछि पहिलो दिन नै त्यहाँ आगो बल्नेछ । हाम्रो ३२ जनाले हेटौंडा, सुर्खेत, बुटवल, धनगढी, लगायत सातवटै प्रदेशमा आगो बल्नेछ,’ उनले भने ।