चितवनमा सात लाख राशिको गोल्डकप हुँदै

चितवन/चितवनमा राईजिङ्ग भरतपुर गोल्डकप-२०८१ हुने भएको छ । चितवन ११ फुटबल क्लब भरतपुर–१३ले आगामी माघ १२ गतेदेखि १९ गतेसम्म गोल्डकपको आयोजना गर्न लागेको हो । प्रतियोगिता नेपाल जुनियर प्रहरी शिक्षालयको खेलमैदान भरतपुरमा हुने आयोजकले आज (शनिबार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

प्रतियोगितामा विभागिय टोली सहित ८ टिमको सहभागिता रहने चितवन ११ फुटबल क्लब भरतपुर–१३का अध्यक्ष शुशिल कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सरस्वती युवा क्लब, आबुखैरहनी गाउँपालिका, गैडाकोट फुटबल क्लब, बागमती युवा क्लब सर्लाही, सुर्यपुर युवा क्लब कालिका, र प्याराडाईज युवा क्लब चितवनको सहभागिता रहने छन् ।

प्रतियोगिताको प्रवद्र्धन राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, बागमती खेलकुद परिषद्, चितवन जिल्ला खेलकुद महासंघ, चितवन जिल्ला फुटबल संघ र भरतपुर खेलकुद विकास समितिले गरेका छन् । प्रतियोगिता फिफाको नियम अनुसार अध्यक्ष कार्कीले जानकारी दिए ।

गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापन्तिलाई दश हजार रुपैयाँ पुरस्कार राखिएको छ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।