अनेम संघ चितवनको प्रथम बैठक सम्पन्न, ५१ प्रतिशत महिला पार्टी सदस्य पुर्याउने लक्ष्य

चितवन/चितवन/अखिल नेपाल महिला संघ (अनेमसंघ) चितवनको प्रथम बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) पार्टी कार्यालय चितवनमा सम्पन्न बैठकले विविधि विषयमा छलफल गर्दै केही निर्णयहरु समेत गरेको छ ।

अनेमसंघ चितवनकी सदस्य शोभा पण्डितका अनुसार बैठकमा नवौं जिल्ला सम्मेलनको समिक्षा, आगामि कार्ययोजना तय र महिलाहरुको हक हितका लागि अझै सक्रिय भएर लाग्ने निर्णय गरेको छ । त्यसैगरी ५१ प्रतिशत महिलाको अधिकार मागिरहँदा पार्टी सदस्य पनि ५१ प्रतिशत पुर्याउने लक्ष्य अनेमसंघ चितवनले लिएको उनले जानकारी दिइन् ।

गत पुष २७ गते सम्पन्न अनेमसंघ चितवनको नवौं जिल्ला सम्मेलनले सरस्वती कतिलाको अध्यक्षतामा ९९ सदस्यीय जिल्ला कमिटी चयन गरेको थियो । आज २ जना मनोनित गरेर १०१ सदस्यीय जिल्ला कमिटी बनाइएको छ । आवश्यकता अनुसार अझै केही संख्या मनोनित गर्ने अनेमसंघ चितवनको तयारी छ ।

आजको बैठकमा अनेम संघकी केन्द्रीय अध्यक्ष टुका भद्र हमाल, एमाले केन्द्रीय सदस्य प्रभा बराल, एमाले चितवनका अध्यक्ष कमल राज पाठक, अनेम संघ केन्द्र र प्रदेशमा चितवनबाट प्रतिनिधित्व गर्ने नेताहरुको समेत उपस्थिति रहेको थियो ।