माघदेखि ग्यासमा फरक फरक मूल्य कायम गर्ने तयारी

काठमाडौं/उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी माघदेखि खाना पकाउने एलपी ग्यासमा फरक फरक मूल्य कायम गर्ने तयारी गरिएको बताएका छन् । शुक्रबार आयोजित नेपाल आयल निगमको ५५ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनका लागि छुट्याएर दोहोरो मूल्य कायम गरिने बताए ।

“हाल ग्यासमा दिइरहेको अनुदानबाट वार्षिक ११ अर्ब रुपियाँ खर्च भइरहेको छ तर यसको लाभ सर्वसाधारणभन्दा पनि व्यवसायीले लिइरहेका छन्,” मन्त्री भण्डारीले भने । उनले ग्यासको फरक फरक मूल्य बनाएर घरायसी उपभोक्तालाई अनुदानको व्यवस्था गर्ने उल्लेख गरे ।

व्यवसायीले ग्यासमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता पाउने र अनुदान पनि प्रयोग गर्ने हुँदा दोहोरो फाइदा लिएकाले घरायसी उपभोक्तालाई मात्र अनुदान दिने गरी तयारी गरिएको उनले जानकारी दिए ।अहिले प्रतिसिलिन्डरमा तीन सय अनुदान रहेको छ । त्यो अनुदान घरायसी प्रयोजनमा सीमित गर्ने हो भने वार्षिक नौ अर्ब रुपियाँले पुग्ने र दुई अर्ब बचत हुने मन्त्री भण्डारीको भनाइ छ ।

घरायसी प्रयोजनमा दिएको अनुदान अझै बढाएर आमउपभोक्तालाई सहुलियत दिने तयारी गरिएको उनले जानकारी दिए । १४.२ किलोको ग्यास सिलिन्डरको भ्याटसहित खुद्रा बिक्री मूल्य एक हजार ९१० रुपियाँ निर्धारण गरिएको छ ।ग्यासमा लाग्दै आएको भ्याट होटेल, रेस्टुरेन्ट, औद्योगिक प्रयोजनमा खपत गर्ने व्यवसायीले फिर्ता पाउँछन् । पाँचतारे होटेलदेखि सडकपेटीसम्म चिया पकाउने र घरायसी प्रयोजनका लागि हाल ग्यासको एउटै मूल्य छ ।