चितवनका छ जना मौरीपालक किसान सम्मानित !

चितवन/चितवनका ६ जना मौरीपालक किसान सम्मानित भएका छन् । मह उत्पादनमा योगदान प¥याएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई चितवनले उनीहरुलाई आज (आइतबार) सौराहाको हात्ती महोत्सवमा सम्मान गरेको हो ।

उनीहरुलाई आज कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले प्रमाणपत्र दिएर सम्मानित गर्नुभएको थियो । सम्मानित हुनेमा राप्ती नगरपालिका(११का धर्मराज लामा, खैरहनी -४ का रामप्रसाद पौडेल, श्याम गुरुङ, कालिका नगरपालिका(६का नारायण पौडेल, रत्ननगर नगरपालिका(२का लक्ष्मीनारायण मानन्धर, राक्सिराङ गाउँपालिकाका सुमनलाल प्रजा रहेका छन् ।

त्यस्तै चितवन हात्ती महोत्सवमा जारी प्रथम चितवन मह उत्सवमा गीता बि फर्म रत्ननगर प्रथम भएको छ । नौ वटा स्टलमध्येबाट मुल्यांकनमा गीता बि फर्म उत्कृष्ट भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख महेश रेग्मीले जानकारी दिनुभयो । उत्कृष्ट स्टललाई ५ हजार रुपैयाँले कृषि मन्त्री अधिकारीको हातबाट पुरस्कृत समेत गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानको महको बजारीकरण गर्ने उद्देश्यले हात्ती महोत्सवमा मह उत्सव कार्यक्रम राखेको छ । यहाँ महका १० वटा स्टल रहेका छन् । परियोजनाको एउटा आफ्नै स्टल छ । त्यहाँबाट परियोजनाले दर्शकलाई निःशुल्क मह चखाइरहेको छ ।