सूर्यको सर्वाधिक नजिक अन्तरिक्षयान पुर्‍याएर नासाले रच्यो इतिहास

आफ्नो एउटा अन्तरिक्षयान सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। केही दिनदेखि सञ्चारसम्पर्कबाट विच्छेद भएको ‘पार्कर सोलर प्रोब’बाट बिहीवार मध्यरातअघि वैज्ञानिकहरूले एउटा सङ्केत पाएका छन्।

नासाले उक्त ‘प्रोब’ “सुरक्षित” रहेको र सौर्य सतहबाट ६१ लाख किलोमिटरनजिक पुगेपछि पनि सामान्य रूपमा सञ्चालन भएको बताएको छ।

उच्च ताप र चरम विकिरणको सामना गर्दै सूर्यको नजिक पुगेको उक्त यानका कारण सूर्यले कसरी काम गर्छ भन्ने हाम्रो बुझाइलाई थप सशक्त बनाउने बताइएको छ।

नासा उक्त अन्तरिक्षयानलाई सूर्यको सर्वाधिक नजिक पठाएर नयाँ कीर्तिमान बनाउने अभियानमा रहेको थियो।

नासाको योजनाअनुसार ‘पार्कर सोलर प्रोब’ सूर्यको बाह्य मण्डलमा प्रवेश गरेको बताइएको छ। त्यस क्रममा उक्त यानले अत्यधिक तापक्रम र विकिरण सामना गरेको थियो।

त्यो उडानका क्रममा उक्त यान केही दिन सञ्चारसम्पर्कबाट छुट्टिने कार्य पूर्वयोजना अनुरूप नै भएको हो।

वैज्ञानिकहरू उक्त यान सकुशल रहे वा नरहेको पत्ता लगाउन सङ्केतको प्रतीक्षामा थिए। त्यस्तो सङ्केत प्राप्त भएपछि उक्त यान सुरक्षित रहेको पुष्टि भएको हो।

नासा वेबसाइटमा जनाइएअनुसार ६,९२,००० किलोमिटर प्रतिघण्टाको गतिमा चलिरहेको अन्तरिक्षयानले ९८० डिग्री सेल्सियससम्मको तापक्रम सहेको छ।

सूर्यको एकदमै नजिकबाट गरिएको यो अध्ययनले “वैज्ञानिकहरूलाई त्यस क्षेत्रको सामग्री कसरी लाखौँ डिग्री सेल्सिअसमा तातो हुन्छ र सौर्य आँधीको उत्पत्तिबारे” पत्ता लगाउन मद्दत गर्ने नासाको भनाइ छ।

त्यस्तै “कसरी ऊर्जायुक्त कणहरू झन्डै प्रकाशको गतिमा कसरी द्रुत हुन्छन् भन्ने पत्ता लगाउन” पनि सहयोग पुग्ने ठानिएको छ।

“सयौँ वर्षदेखि मानिसहरूले सूर्यबारे अध्ययन गर्दै आएका छन्। तर नपुगेसम्म कुनै ठाउँ कस्तो छ भन्ने महसुस गर्न सकिँदैन,” नासाको विज्ञान विभागकी प्रमुख निकोला फक्सले यसअघी बीबीसी न्यूजसँग भनेकी थिइन्।

उनका अनुसार सूर्यको निश्चित भाग कस्तो छ भनेर थाहा पाउनका लागि पनि त्यहाँ त्यस्तो उडान गर्नै पर्ने हुन्छ।

सौर्यमण्डलको मध्यभागतिर जाने गरी पार्कर सोलर प्रोब सन् २०१८ मा प्रक्षेपण गरिएको थियो।

यो प्रोब २१ पटक सूर्यनजिक पुगिसकेको छ। तर क्रिस्मसको अघिल्लो दिन मङ्गलवार अझ निकटको बिन्दु पुगेर यसले पुराना कीर्तिमानहरू भङ्ग गर्ने वैज्ञानिकहरूको आकलन छ।

निकटतम बिन्दुमा पुग्दा यो प्रोब सूर्यको सतहभन्दा ३८ लाख माइल (६२ लाख किलोमिटर)को दूरीमा हुने छ। त्यो दूरी तपाईँलाई निकै धेरै लाग्न सक्छ।

तर निकोला फक्स त्यसलाई तुलनात्मक दृष्टिकोणबाट हेर्नुपर्ने ठान्छिन्। “हामी सूर्यभन्दा ९.३ करोड माइल टाढा छौँ। यदि सूर्य र पृथ्वीलाई एक मिटरको दूरीमा राख्ने हो भने ‘पार्कर सोलर प्रोब’ सूर्यभन्दा चार सेन्टिमिटर टाढा हुन्छ। त्यसैले त्यो निकै नजिक हो,” उनले भनिन्।

उक्त प्रोबले १,४०० डिग्री सेल्सिअससम्मको तापक्रम र विकिरण झेलेको छ। त्यस्तो अवस्थामा त्यसभित्र रहेका विद्युतीय उपकरणहरू गल्न सक्थे।

उक्त प्रोबलाई जोगाउन ११.५ सेन्टिमिटर बाक्लो ‘कार्बन-कम्पोजिट’बाट निर्मित कवच बनाइएको छ। सूर्यको वाह्य मण्डलमा तीव्र गतिमा प्रवेश गर्ने र निस्किने रणनीतिमा यो यान छ।

यो प्रोब मानवनिर्मित अन्य यान वा वस्तुभन्दा तीव्र गतिमा उड्छ। यसको गति ४.३ लाख माइल प्रतिघण्टा छ। त्यो वेगमा यात्रा गर्ने हो भने ३० सेकन्डभन्दा कम समयमा लन्डनबाट न्यूयोर्क पुगिन्छ।

सूर्य “छुने” यस्तो प्रयास किन गरिँदै छ त?

सूर्यको बाह्य मण्डल ‘करोना’मा यो यान उड्दा एउटा पुरानो रहस्यको कारण पत्ता लगाउन सकिने वैज्ञानिकहरूले ठानेका छन्।

“करोना निकै धेरै तातो छ तर हामीलाई त्यसको कारण थाहा छैन,” फिफ्थ स्टार ल्याब्समा कार्यरत खगोलविद् डा जेनिफर मिलर्डले भनिन्।

“सूर्यको सतह झन्डै ६,००० डिग्री सेल्सिअस छ। तर करोना जुन सूर्यग्रहण लाग्दा देखिने बाह्य मण्डल हो त्यसको तापक्रम लाखौँ डिग्री पुग्छ। त्यो सूर्यको सतहबाट निकै टाढा छ। वाह्य मण्डल कसरी निकै तातो बन्छ?”

यो अभियानले वैज्ञानिकहरूलाई सौर्य आँधीबारे पनि थप कुरा बुझ्न सघाउने ठानिएको छ। सौर्य आँधीमा करोनाबाट निरन्तर निस्किने आयनीकृत कणहरू हुन्छन्।

ती कणहरूले पृथ्वीको चुम्बकीय क्षेत्रसँग अन्तरक्रिया गर्दा आकाशमा रङ्गीन प्रकाशयुक्त ‘ओरोरा’ बन्छ।

‘अन्तरिक्ष मौसम’ पनि भनिने यो प्रक्रियाका कारण कहिलेकाहीँ समस्या पनि उत्पन्न हुन सक्छ। ऊर्जा आपूर्ति गर्न निर्मित ग्रिडहरू, विद्युतीय सामग्रीहरू र सञ्चार प्रणाली त्यसबाट प्रभावित हुन सक्छन्।

“सूर्य, त्यसका गतिविधि, अन्तरिक्ष मौसम, सौर्य आँधीबारे बुझ्नु पृथ्वीमा हाम्रो दैनिक जीवनका लागि निकै महत्त्वपूर्ण हुन्छ,” डा मिलर्डले भनिन्।

नासाका वैज्ञानिकहरू उक्त यान आफ्नो सम्पर्कमा नहुने समयको प्रतीक्षामा थिए।

फक्सले उक्त यानले पृथ्वीमा पुनः सङ्केत पठाएपछि आफ्नो टोलीले आफूलाई त्यसबारे सूचित गर्ने बताएकी थिइन्।

उनी यो “दुस्साहसिक प्रयास”कारण आफू व्यग्र भएको स्वीकार गरेकी थिइन्। तर उनी आशावादी थिइन्।

उनले भनेकी थिइन्, “मलाई यो यानबारे चिन्ता छ। तर हामीले सबै खालका क्रूर अवस्था सहन सक्ने गरी यसको निर्माण गरेका छौँ। यो कठोर, सानो तर कठोर अन्तरिक्षयान हो।”