काठमाडौं/नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो।

एक नेताका अनुसार स्थायी कमिटी सदस्य डा।विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।
एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो ।

आजको सचिवालय बैठकले पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीबाट हटाएको हो । रावल १०औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बनेका थिए । अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्य अस्वीकार गरे । त्यसपछि पार्टीले सल्लाहकार परिषद्‌मा जिम्मेवारी दिए पनि बस्न अस्वीकार गरेका थिए ।