चितवनमा विविध कार्यक्रम गरी ‘तमु ल्होसार’पर्व मनाइने

चितवन/चितवनमा तमु ल्होसार पर्व विविध कार्यक्रमको आयोजना गरि मनाइने भएको छ । तमु प्ये ल्हु संघ चितवनले पुस १३, १४ र १५ गते विविध कार्यक्रम आयोजना गरी ल्होसार पर्व मनाउन लागेको हो ।

ल्होसारको पूर्वसन्ध्यामा पुस १३ गते भरतपुरको नौरंगेमा शुभकामना आदानप्रदान सहित गुरुङ समुदायको मौलिकता झल्कने सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको आज(मंगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । सो अवसरमा चितवन तथा यस आसपासमा बस्ने गुरुङ समुदायको उपस्थिती रहेने बताइएको छ । कार्यक्रममा स्थानीय कलाकारहरुले प्रस्तुति रहने तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो ।

संघले यसपटकको सास्कृतिक कार्यक्रमलाई जग्गा खरिदका लागि अर्थ संकलन गर्ने माध्यम समेत उहाँले बताउनुभयो । चितवनमा तमु प्ये ल्हु संघ २०६० सालमा स्थापना गरिएको थियो । त्यसयता गुरुङ समुदायले तमु ल्होसार सामुहिक रुपमा विविध सांस्कृतिक कार्यक्रम गरी मनाउँदै आएको उहाँले बताउनुभयो ।

गुरुङ समुदायले पुस १५ गतेलाई महान पर्व तथा नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यस वर्ष गाई वर्गलाई बिदाई तथा बाघ वर्गलाई स्वागत गरिनेछ । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै तमु प्ये ल्हु संघ अन्तरगत रहेका ३३ वटा शाखामा विविध कार्यक्रम हुने उहाँले बताउनुभयो । उहाँका अनुसार साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ ।

ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाउने चलन रहेको उहाँले बताउनुभयो । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पती भएको मानिन्छ । तमु पात्रोमा मुसा, गाई, बाघ, बिरालो, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र गिद्द गरी १२ वटा वर्ग हुने बताइन्छ ।