चितवन राइनोज प्लेअफमा प्रवेश
चितवन/चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने तेस्रो टोली बनेको छ । आज विहान सम्पन्न खेलमा काठमाडौं गुर्खाजले बिराटनगर किंग्समाथि १ विकेटको जित हार पारे पनि नेटरनरेट चितवन भन्दा अघि बढ्न नसकेपछि चितवन टप ४ भित्र रहेर प्ले अफ पुग्ने निश्चित भएको हो ।
काठमाडौंले ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ । काठमाडौको नेटरनरेट माइनस ०.३२१ रहेको छ । समान ८ अंक भएको कर्णाली याक्स ०.०९५ नेटरनरेटका साथ चौथो स्थानमा छ भने ७ खेलमै समान अंक भएको चितवन राइनोज ०.६३४ नेटरनरेटका साथ तेस्रो स्थानमा छ । लिगमा कर्णालीको एक खेल खेल्न बाँकी छ ।
अन्तिम खेलमा कर्णालीले सुदूरपश्चिम रोयल्ससंग भिड्ने छ । उक्त खेलमा कर्णाली फराकिलो अन्तिरले पराजित भएमा मात्रै काठमाडौको प्लेअफ पुग्ने संभावना रहन्छ । अन्यथा नेटरनरेटको आधारमा कर्णाली पराजित भए पनि प्लेअफमा पुग्ने छ । सुदूरपश्चिमले कर्णालीलाई ५३ रन भन्दा बढीले पराजित गरेमा मात्र काठमाडौं नेटरनरेटमा माथि आउने छ ।यदि उक्त खेलमा कर्णाली विजयी भएमा काठमाडौ बाहिरिने छ । यो समीकरणले चितवन प्ले अफ पुगेको छ ।
चितवन लगातार दुई खेल जित्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो खेलमा काठमाडौ गुर्खाजलाई ५ विकेट, पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको थियो । तेस्रो खेलमा कर्णाली याक्ससंग ६ विकेटले पराजित भएको चितवन चौथो खेलमा बलियो टोली सुदूरपश्चिम रोयल्समाथि ३३ रनको जित निकालेको थियो । पाँचौं खेलमा प्रतियोगिताकै कमजोर टिम लुम्बिनी लायन्ससंग ३३ रनले पराजित भएको थियो ।
छैटौं खेलमा बिराटनगर किंग्ससंग ५१ रनले पराजित भएपछि चितवनको प्ले अफ पुग्ने संभावना कठिन बनेको थियो । जित्नै पर्ने लिगको अन्तिम खेलमा अर्को बलियो टोली जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै चितवनले प्ले अफ पुग्ने संभावना बलियो बनाएको थियो । आजको खेलमा काठमाडौंले ठूलो जित निकालेको खण्डमा चितवन बाहिरिने संभावना थियो । तर बिराटनगरसंग १ विकेटले मात्रै जित निकालेपछि चितवन प्ले अफ पुग्ने निश्चित बनेको थियो ।