प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै !
बेइजिङ (चीन)/प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल(चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् ।
दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनः निर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ ।