चितवनमा सकियो रविको बयान, दुई दिनमा सोधियो ७० बढी प्रश्न !
चितवन/चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सकिएको छ।
मंगलबारदेखि सुरु भएको लामिछानेको बयान आज दोस्रो दिन राती आठ बजे सकिएको हो। ‘अनुसन्धानका क्रममा केही आएपछि बोलाउने गरी अहिलेलाई बयान सकिएको छ,’–जिल्ला न्यायधिवक्ता शान्तिराज लुईटेलले भने।
लुईटेलका अनुसार लामिछानेमाथि दुई दिनसम्म ७० भन्दा बढी प्रश्न सोधिएको छ। लामिछाने माथि लिखित बयान लिइएको न्यायधिवक्ता लुईटेलले जानकारी दिए। सरकारी वकिल कार्यालयको रोहवरमा अनुसन्धान अधिकृतले लामिछाने माथि बयान लिएका थिए।
मंगलबार एक बजेदेखि बयान लिइएको थियो। बुधबार भने बिहान १० बजेदेखि राती आठ बजेसम्म बयान लिइएको उनले बताए। लिखित बयानको प्रमाणीकरण समेत भइसकेको उनले जनाए।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई साहाराको रकम अपचलनबारे बयान लिन मंगलबार (हिजो) चितवन ल्याइएको थियो। लामिछानेलाई भोलि (मंगलबार) पोखरा पठाउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।
लामिछाने माथि सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ। साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ।
साहारा सहकारीमा ६ हजार ३३४ बचत कर्ता छन्। त्यसमध्ये जिल्ला प्रहरी कार्यालयमा ४४६ जनाले सो रकमको माग सहित उजुरी दिएका थिए। साहाराको सफ्टवेयरमा हेर्दा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ पैसा हिनामिना भएको देखिन्छ।
तर, हालसम्म उजुरी १४ करोड ६७ लाख ७७२ रुपैयाँको माग दाबी गर्न कोही गएका छैनन्। गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार शङ्कास्पद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
चितवनमा लामिछानेको समर्थनमा प्रदर्शन, प्रहरीद्वारा अश्रुग्याँस प्रहार
सहकारी ठगी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान भइरहेका बेला जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन भएको थियो।
लामिछानेको समर्थनमा भएको प्रदर्शनमा बुधबार प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीले लामिछानेसँग बयान लिइरहेका बेला रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूले भरतपुर अस्पताल रोडमा विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय अगाडि पुगेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो। त्यसले पनि प्रदर्शनकारी अगाडि बढ्न नरोकिएपछि अश्रुग्याँस हानेको हो। झडपको क्रममा १३ जना प्रहरी घाइते भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए।
यस्तै प्रदर्शनकारी तर्फ पनि दुई दर्जनको हाराहारीमा मानिसहरु घाइते भएको रास्वपाले बताएको छ।
चितवनमा सहकारी पीडितको प्रदर्शन
चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता पीडितले प्रदर्शन गरेका थिए। सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय चितवनमा बयान भइरहेका बेला पीडितले जिल्ला समन्वय समितिको कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
पीडितहरूले सहकारीमा बचत गरेको रकम फिर्ता गर्नका लागि पहल गरिदिन सरकारसँग माग गरेका थिए। जिल्ला प्रहरी कार्यालय चितवन बाहिर लामिछानेको समर्थनमा विरोध प्रदर्शन भइरहेको बेला पीडितले पनि प्रदर्शन गरेका हुन्।
पीडितहरूले सहकारी बचत अपचलनमा संलग्न सबैलाई कारबाहीको माग गरेका छन्। पीडितहरूले तत्काल न्यायिक प्राधिकरण गठन गरी सहकारीमा जम्मा गरेको बचत रकम फिर्ता गर्न माग गरेका छन्। उनीहरुले बचत कर्ताको रकम फिर्ता गर्दिए सरकारलाई भगवान् सरी पुज्ने बताए।