एसीको पानीलाई चरणामृत भनेर पिइरहे श्रद्धालु

वृन्दावन/भारतको वृन्दावनको मन्दिरमा रोचक घटना घटेको छ । त्यहाँ रहेको हात्तीको मूर्तिबाट निरन्तर झरिरहेको पानी पिउन श्रद्धालुहरू लाइन लाग्ने गर्थे । त्यो पानी भगवान् श्रीकृष्णको पाउबाट आएको उनीहरूको विश्वास थियो । तर, अहिले त्यो मन्दिरको एयर कन्डिसनिङबाट झरिरहेको पानी भएको खुलासा भएको छ ।

श्री बाँके बिहारी मन्दिरको भित्तामा रहेको हात्तीको मूर्तिबाट झरिरहेको पानी पिउन लामो लाइन लागेको भिडियोहरू सार्वजनिक भएका छन् । यसले मानिसको श्रद्धा र आलोचनात्मक सोच वा सामान्य ज्ञानबिचको फरकको बहस पनि सिर्जना गरेको छ ।

मिडिया रिपोर्टका अनुसार उनीहरुले उक्त पानीलाई ‘चरणामृत’ (श्रीकृष्णको पाउबाट आएको पवित्र जल) ठानेका थिए । पछि मन्दिरका अधिकारीहरूले सो पानी पिउन बन्द गराउनका लागि सूचना नै जारी गर्नुपरेको थियो ।

‘हामी उहाँहरूको श्रद्धालाई सम्मान गर्छौँ । तर, यसबारे जानकारी दिन आवश्यक थियो,’ मन्दिरमा सेवक रहेका दिनेश गोस्वामीले भने, ‘त्यो चरणामृत नभएर एसीको पानी मात्र थियो । यदि त्यो वास्तवमै चरणामृत हुन्थ्यो भने त्यसमा तुलसी र गुलाफको पत्ता पनि हुन्थ्यो ।’एसीको पानी पिउनु हानिकारक नलागे पनि विज्ञहरूले त्यहाँ विभिन्न प्रकारको ब्याक्टेरिया र फंगी हुने भएकाले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिएका छन् । एजेन्सी