आजबाट देउसी भैलो खेल्दै एमाले चितवन (समय तालिकासहित)

चितवन/नेकपा (एमाले) चितवनले नेपालीहरुको महान् चाड शुभ–दीपावलीको पावन अवसरमा यस वर्ष पनि देउसी भैलो खेल्ने भएको छ ।एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले कार्तिक १५ र १६ गते देउसी भैलो खेल्न लागिएको जानकारी दिए ।

आचार्यका अनुसार कार्तिक १५ गते बिहान १०ः३० बजे भरतपुर १२ का वडा अध्यक्ष हरि पन्तको निवास, दिउँसो १२ः३० बजे भतपुर ११ को वडा कार्यालय नजिकै कुमारी चोकमा, दिउँसो २ः०० बजे नारायणगढ जेसीज भवन अगाडि र साँझ ४ः०० बजे भरतपपुरको अस्पताल रोडमा जिल्ला प्रहरी कार्यालय नजिकै देउसी खेलिने छ ।

यसैगरी कार्तिक १६ गते पूर्वि चितवनमा देउसी खेलिने छ । ११ः३० बजे पिप्ले, १२ः३० बजे भण्डारा, २ः०० बजे पर्साको चौबिसकोठी र ४ः०० बजे रत्ननगरमा देउसी भैलो खेल्ने कार्यतालिका रहेको आचार्यले जानकारी दिए ।

मौलिक तरिकाले देउसी खेलेर संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भन्ने सन्देश दिन एमालेले विगतमा पनि देउसी भैलो कार्यक्रम गर्ने गरेको बताउँदै एमाले चितवनका अध्यक्ष कमलराज पाठकले यस वर्ष पनि त्यसलाई निरन्तरता दिन लागिएको बताए । अध्यक्ष पाठकले देउसी भैलोमा सहभागि हुन नेता, कार्यकर्ता, शभेच्छुक र समर्थकलाई आग्रह गरेका छन् । साथै देउसी खेलिने स्थानका स्थानीयबासी र व्यवासायीलाई पनि देउसी भैलो अवलोकन गर्न र नाँचगानमा सहभागी हुन उनले आह्वान गरेका छन् ।