जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कोप २९ मा पनि नेपालले जलवायुजन्य मुद्दाको नेतृत्व गर्ने बताए । उनले नेपालले जलवायु जन्य अन्तर्राष्ट्रिय फोरमहरू मा क्लाइमेटका विषयहरूमा नेतृत्व गर्ने गरेको बताए । प्रधानमन्त्री ओलीले नेपाल जलवायुजन्य प्रभावलाई सबैभन्दा बढी रोक्नसक्ने भूगोल भएको बताए । उनले जलवायु वित्त, जलवायुन्यायका विषयमा अहिले नेपालले खरो रूपमा आवाज उठाइरहेको बताए ।

प्रधानमन्त्री ओलीले मधेस प्रदेशमा जलवायु परिवर्तनको ठूलो असर परेको महसुस गरेको बताए । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वृक्षारोपणको अभियान सुरु गरेको र संघ सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

जलवायु परिवर्तनका कारण महिला, बालबालिकार र ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित भएको उनको भनाइ छ । जलवायु परिवर्तन सम्बन्धी छुट्टै मन्त्रालय नभएकाले जलवायुजन्य क्षेत्रमा काम हुन नसकेको भन्ने भनाइमा सत्यता नरहेको बताए । मन्त्रालय नहुँदा पनि सरकारले जलवायुजन्य क्षेत्रमा काम गरिरहेको उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल