रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्न सक्दैनः विप्लव

चितवन/नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सबै माओवादी पार्टीबाट अलग भएकाहरू एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको निर्वाचनमा प्राप्त गरेकै जस्तो जनमत प्राप्त गर्न सकिने बताएका छन् ।

चितवनमा शनिबार आयोजित कार्यक्रममा चन्दले माओवादीबाट अलग भएका दलहरू एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकताबद्ध भएर देश र जनताको सेवाका लागि अघि बढ्नुपर्ने बताएका हुन् । महासचिव चन्दले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भूलभुलैयामा पार्न खोजेपनि त्यो सम्भव नभएको बताए । देशमा आफूहरूले एक पटक जनताको सेवा गर्न पाउनुपर्ने उनको भनाइ थियो ।

‘आजको दिनमा हामीले बुझने कुरा के हो भने माओवादी एकले अर्कोलाई आक्षेप लगाउने र हेप्ने कुरा होइन, यो एकताबद्ध हुन्छ । यो एकताबद्ध भयो भने २०६४ साल जन्मिन्छ । हामीले राम्रोसँग बुझ्नुपर्दछ । २०६४ साल होइन, २०५२ साल भन्नुभएन । २०५२ साल त अहिले नभनौं, तर २०६४ साल जन्मिन्छ नेपालमा । तर उस्तै प्रकारले होइन, उस्तै इतिहास दोहोरिँदैन । इतिहास एउटा चर्कोबाट गुज्रिन्छ । इतिहास आउँछ, फर्केर आउँछ । यो कुरा जनताले कहिल्यै पनि भुल्ने छैनन्,ु चन्दले भने, केही मान्छेले भ्रम छोडेका छन् । संस्कृतिको नाममा, गुटको नाममा, च्याउ जस्ता उम्रेका पार्टीले रातारात खडा गरेका मान्छेहरूले देशलाई भुलभुलैयामा पार्न खोजेका छन् ।

माओवादी आन्दोलनबाट अलग भएर गठित पार्टीहरू एकताबद्ध भएर आगामी निर्वाचनमा जानुपर्ने चन्दको भनाइ थियो । एकचोटी एकताबद्ध हुने हो । एकताबद्ध भएर अगाडि जाने हो । हामीलाई कुनै मोजमस्ती चाहिएको छैन । हामीलाई कुनै स्वार्थ चाहिएको छैन । हामीलाई कुर्सी मात्रै चाहिएको छैन । त्यो कुर्सी हामीलाई व्यक्तिगत जीवनको लागि चाहिएको छैन,’ उनले भने ।