खाना भत्ता डण्डिफोरको उपचारमा खर्च गरेपछि फेसबुकले बर्खास्त गर्‍यो २ दर्जन कर्मचारी

काठमाडौँ/कम्पनीले खाना भत्ताबापत दिएको रकम कपडा धुने डिटरजेन्ट, वाइन गिलास र डण्डिफोर उपचार प्याडको खरिदमा खर्चिने करिब दुई दर्जन कर्मचारीलाई फेसबुकको मातृ कम्पनी मेटाले बर्खास्त गरेको छ ।

लस एन्जल्सस्थित कार्याल्यमा कार्यरत ती कर्मचारी खाना भत्ताको रकम दुरुपयोग गरेको आरोपमा बर्खास्तीमा परेका हुन् । मेटाले आफ्ना ठूला कर्पोरेट कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि आफ्नै भव्य क्याफेटेरियामा निस्शुल्क रुपमा खाना खाने सुविधा दिएको हुन्छ भने सानो आकारका कार्यालयमा कार्यरत कर्मचारीलाई चाहिं ब्रेकफास्ट भत्ताबापत २० डलर र लञ्च तथा डिनर भत्ताबापत २५र२५ डलरको भौचर प्रदान गर्दछ ।

उक्त रकमबाट कर्मचारीले खानेकुरा अनलाइनबाटै कार्यालयमा मगाएर खान सकुन् र काममा बाधा नपुगोस् भन्ने उद्देश्य मेटाको रहेको छ ।तर, लस एन्जल्सस्थित कार्यालयका कतिपय कर्मचारीहरुले उक्त खाना भत्ताको रकम दुरुपयोग गरेको आन्तरिक अनुसन्धानले देखाएको छ । जसमा ती कर्मचारीहरुले भत्ताबापतको रकम अन्य वस्तुमा खर्च गर्ने तथा कार्यालयको साटो घरमै खानेकुरा मगाउने गरेको पाइएको छ ।

मेटाले कम्पनीको श्रृंखलाबद्ध पुनर्संरचनाका क्रममा कर्मचारीहरू कटौती गर्न लागिरहेको बताइरहेका बेला नै गत साता भएको पछिल्लो बर्खास्तगीको समाचार सार्वजनिक भएको हो ।

खाना भत्ताको रकम दुरुपयोग गर्ने करिब २ दर्जन कर्मचारीलाई हटाइएको बताइएपछि मेटाले यकिन संख्या भने सार्वजनिक गरेको छैन । स्मरण रहोस् कर्मचारी कटौतीकै सिलसिलामा मेटाले गत वर्ष २० हजारभन्दा धेरै कर्मचारी कटौती गरेको थियो । एजेन्सी