भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल

काठमाडौं/भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गरेर सत्तारूढ दल नेकपा एमालेको पार्टी कार्यालय भवनसमेत बनाइदिने भएपछि पार्टीभित्र र बाहिर नेतृत्वको चर्को आलोचना भइरहेको छ। पार्टीका उच्च तहका नेताहरू मौन रहे पनि कतिपय स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरूले विरोध जनाएका छन्। पार्टीका तल्लो तहका कार्यकर्ताले पनि यसलाई निको मानेका छैनन्। वडासम्म संगठन रहेको एमालेका हरेक तहबाट यस विषयमा प्रश्न उठाइएका छन्।

नक्कली भ्याट बिल प्रकरणमा राजस्व छली गरेको आरोपमा सर्वोच्च अदालतबाट सजाय तोकिएका व्यक्ति गुरुङले दिएको दान लिनु पार्टीका लागि घातक रहेको भन्दै आलोचना भइरहेको छ। एमालेले जग्गा दान र राजस्व ठगी अलग विषय भएको जनाएको छ।

कानुनबमोजिम हुने विषयमा एमालेको कुनै लेनदेन नभएको जनाइएको छ। नक्कली भ्याट बिल प्रकरणमा सर्वोच्च अदालतले २०८० माघमा गुरुङलाई दोषी ठहर गरेको थियो। एमाले पार्टी पंक्तिमा शिर निहुरिएको भन्ने गरिए पनि नेता–कार्यकर्ताले खुलेर अध्यक्ष केपी शर्मा ओलीको आलोचना भने गर्न सकेका छैनन्। तर सामाजिक सञ्जाल र पार्टी पंक्तिबाहिरका नागरिकले भने ओलीको चर्को आलोचना गरेका छन्।

काठमाडौंको कीर्तिपुरमा गुरुङले दान गरेको जग्गामा एमालेको पार्टी कार्यालय बनाउने भन्दै अध्यक्ष ओलीले शिलान्यास गरिसकेपछि एमालेमा एक प्रकारको तरंग पैदा भएको थियो। पार्टी कार्यालय शिलान्यास गर्नुअघि बसेको सचिवालय बैठकमा जग्गा प्राप्त हुने तर कसले दिने भन्ने खुलाइएको थिएन।

‘सचिवालय बैठकमा दानवीरले जग्गा दिने मात्र भनिएको थियो, कसले किन दिने भन्ने खुलाइएको थिएन,’ एमालेका एक पदाधिकारीले भने। उनका अनुसार पार्टी कार्यालय शिलान्यासका बेला मात्रै जग्गादाता मीनबहादुर गुरुङ हुन् भन्ने खुलेको थियो।

असोज ११ र १२ गतेको बाढीका कारण एमाले पार्टी कार्यालय डुबानमा परेपछि व्यवसायी गुरुङले पार्टीको फर्निचर बनाइदिने प्रस्ताव गरेका थिए। तर पार्टी अध्यक्ष ओलीले त्यो कार्यालय आफ्नो नभएको बताएपछि जग्गासहित पार्टी कार्यालय नै बनाइदिने प्रस्ताव गुरुङले गरे। ओलीले पनि गुरुङको उक्त प्रस्ताव स्वीकार गरेका हुन्। यो समाचार नागरिक दैनिकमा छ ।