बढ्दै चिसो, दुई सातामा ५ डिग्री घट्यो तापक्रम

काठमाडौं/नेपालमा मनसुन बाहिरिएर अहिले ‘पोस्ट’ मनसुन चलिरहेको छ । पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ ।मनसुन सिजन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम खुल्न थालेको थियो ।

असोज २७ गते नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान चिसो महसुस हुन थालेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् अधिकारीका अनुसार असोज १५ गते काठमाडौंको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ । “काठमाडौँमा चिसो निरन्तर रुपमा बढिरहेको छ”, मौसमविद् अधिकारीले भने, “पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।”

महाशाखाको विवरणमा आइतबार काठमाडौंको न्यूनतम तापक्रम १४.७ डिग्रिसेल्सिय पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ । काठमाडौंसहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढेको देखिएको उहाँको भनाइ छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ । लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । रासस