सुनचाँदी धितोमा ६० अर्ब कर्जा प्रवाह
विश्वबजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ ।गत साता अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस करिब २७ सय डलर पुगेको सुन आइतबार साँझसम्म २६ सय ६७ डलर कायम छ ।रुस–युक्रेन र मध्यपूर्वमा चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै गएको छ ।
यस्तै विश्वभर शक्तिशाली मुलुकबीच भू–राजनीतिक द्वन्द्व चर्किँदै जाँदा चीन, भारतलगायत ठूला देशका केन्द्रीय बैंकले सुन भण्डारण बढाउँदै लगेका छन् ।चीनको केन्द्रीय बैंकले करिब १७ दशमलव छ टन सुन खरिद गरेर आफ्नो भण्डारण बढाउँदै लगेको छ । यही कारण पनि विश्वबजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार रुपैयाँ कायम भएको छ । चाँदीका मूल्य पनि प्रतितोला एक हजार नौ सय ५० रुपैयाँ पुगेको छ ।
सुनका गहना बनाउँदा केही निश्चित प्रतिशत ज्याला र जर्ती जोड्ने भएकाले बजारमा एक तोला सुनको गहना किन्दा एक लाख ७५ हजार रुपैयाँ हाराहारी पुग्ने व्यवसायीहरू बताउँछन् ।
मूल्य बढ्दै जाँदा सुनमा बैंकहरूको लगानी पनि बढेको छ । बैंकहरूले सुन धितोमा दिने कर्जाको आकार बढ्दै गएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०८१ साउन मसान्तसम्म ६० अर्ब २१ करोड ६० लाख रुपैयाँ कर्जा सुन धितो राखेर प्रवाह गरेका छन् ।
जुन एक वर्षअघिको तुलनामा छ अर्ब ८९ करोड ७० लाख रुपैयाँ बढी हो । गत वर्ष साउनसम्म बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा प्रवाह गरेको यस्तो कर्जा ५३ अर्ब ३१ करोड ९० लाख रुपैयाँ थियो ।
वाणिज्य बैंकहरूले मात्रै सुनचाँदी धितोमा गत साउनसम्म ५५ अर्ब सात करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।जुन गत वर्ष साउन महिनासम्मको तुलनामा छ अर्ब ७१ करोड २० लाख रुपैयाँ बढी हो । गत वर्ष साउनसम्म वाणिज्य बैंकहरूले सुनचाँदी धितो लिएर ४८ अर्ब ३६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले गत साउनसम्म तीन अर्ब ९७ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा सात करोड १० लाख रुपैयाँ बढी हो । गत वर्ष साउनसम्म विकास बैंकहरूले सुनचाँदी धितोमा तीन अर्ब ९० करोड ६० लाख रुपैयाँ कर्जा दिएका थिए ।
फाइनान्स कम्पनीहरूले भने सुनचाँदी धितोमा एक अर्ब १६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत वर्ष साउनसम्मको तुलनामा ११ करोड ५० लाख रुपैयाँले बढी हो ।गत वर्ष साउन महिनासमम फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा एक अर्ब चार करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
बैंकहरूले सुनचाँदी धितोमा दिने कर्जा बढेको छ । तर, बजारमा सुन महँगो बन्दै जाँदा बिक्री भने घटेको छ । व्यवसायीहरूले दशैँको समयमा पनि सुनचाँदीको कारोबार न्यून भएको बताएका छन् ।महँगीले उपभोक्ताको क्रयशक्ति घटेका बेला सुनको मूल्य पनि बढ्न गएपछि बिक्री घटेको हो । (आर्थिक दैनिकबाट)