गजुरीको परेवाभीरमा सुख्खा पहिरो, रातभर मुग्लिन-नागढुंगा सडक नखुल्ने

चितवन,असोज १४/पृथ्वी राजमार्ग अन्र्तगत पर्ने गजुरीमा सुख्खा पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ। धादिङको गजुरी गाउँपालिका–२ परेवाभीरमा सुख्खा पहिरो खस्दा मुग्लिन मलेखु सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

सोमबार (आज) साँझ झरेको पहिरो पन्छ्याएर केही सवारी आवागमन सुरु भएपछि पुनः ठुलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए। पहिरो पन्छ्याउनका लागि सम्पूर्ण सुरक्षा निकायहरु लगिपरेको प्रहरी निरीक्षक सिलवालले बताए।

यद्यपि, सडकमाथिबाट ठूलो पहिरो खसेको कारण आज रातभर पहिरो पन्छ्याउन सक्ने सम्भावना न्यून रहेको उनको भनाइ छ। सवारी चालकहरूलाई आ–आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ।