बाढी पहिरोको बितण्डा : देशभर कम्तीमा ५० जनाको मृत्यु, सयौं बेपत्ता

काठमाडौ/दुईदिनदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ ।

शनिबार दिउँसो ३ बजेसम्म देशभर कम्तीमा ५० जना भन्दा बढीको मृत्यु भएको छ भने सयौं बेपत्ता भएका छन् । बाढीमा फसेका हजारौं मानिसहरूको उद्धार भएको छ ।

देश भरीका बिपद ब्यबस्थापन समितिका विवरणअनुसार शनिबार अपरान्हसम्म काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६, सिन्धपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १-१ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता छन् । प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता रहेका छन् । उपत्यकामा मात्रै बाढीमा फसेका १०५३ जनाको उद्धार गरिएको छ ।

उपत्यकामा बाढीले चार वटा पक्की घर भत्काएको छ भने एक हजार २४४ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्‍याएको छ । त्यसमध्ये ३९ जिल्लाका विभिन्न सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् ।

केही ठाउँमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएपनि निरन्तरको बर्षाले केही स्थानका पहिरो र कटान ब्यबस्थापन गर्न कठिनाइ भैरहेकोले आम रुपामा सवारी सुचारु गर्न नसकिएको जनाएको छ।