दियालो फुडल्याण्डमा भरतपुर महानगरले चलायो डोजर !

चितवन/भरतपुर महानगरमा पुङ्गिखोला आसपासका सार्बजनिक जमिन अतिक्रमण गरी बनाईएका संरचना भत्काउने अभियान द्रुत गतिमा अघि बढेको छ। यसै क्रममा महानगरपालिका–२ स्थित विक्रम मार्गमा रहेको दियालो फुड्ल्याण्डको संरचनामा महानगरले डोजर चलाएको हो ।

पुङ्गीखोलालाई मिचेर बनाईएको संरचना महानगरले भत्काउन सुरु गरेपछि दियालो फुडल्याण्डको संरचनामा पनि डोजर चलेको हो । पुङ्गीखोलालाई मिचेर निर्माण गरेका संरचना भत्काईएको महानगरपालिकाका प्रमुख इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

संरचना भत्काउदा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी फिल्डमा उत्रिएका थिए । सांसद बिक्रम पाण्डेले खोला र सिँचाइको जग्गा अतिक्रमण गरी भवन निर्माण गरेर भाडामा दिएको महानगरपालिकाका इन्जिनियर सुर्य लामाले बताए । उनले विक्रम मार्गमा पुङ्गीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको जानकारी दिए । यसअघि सो स्थानमा कालिका कन्स्ट्रक्शन प्रा.लि.को अफिस थियो ।

दियालो फुडल्याण्डलाई पाण्डेले भाडामा दिईएको जमिन नाप जाँच गर्दा पुङ्गीखोलामाथि बनेको देखिएकाले भत्काइएको र यश क्रममा ५० भन्दा बढी घर परेको महानगरपालिकाले जनाएको छ ।

भरतपुर महानगरपालिका ११ गणेशधामदेखि सुरु हुने यो खोला वडा नं. २, ३ र वडा नं.४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ ।

साढे ६ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा नं.२ मा मिचिएको महानगरले जनाएको छ । यसअघि बुधबारै विहान महानगरले लायन्स भवनमा पनि डोजर चलाएको थियो ।