पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवनमा चल्यो महानगरको डोजर।

चितवन/पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवन भत्काइएको छ । भरतपुर महानगरपालिकाले डोजर प्रयोग गरी लायन्स क्लबको पाँच तले भवन आज बुधबार भत्काएको छ।
अतिक्रमित संरचना हटाउन दिइएको समयसिमा भित्र पनि नहटाइएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो ।

भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि उपस्थित भएका थिए । यो भवन तीन धुरमा निर्माण गरिएको हो । मापदण्ड विपरित र अनधिकृत संरचना हटाउने कामलाई महानगरले निरन्तरता दिने नगर प्रमुख दाहालले बताइन् ।

‘वर्षाैदेखि सरकारी जग्गा हडपेर ठूला–ठूला भवन बनाउने अनि भाडामा लगाएर खाने जुन प्रचलन छ । त्यसलाई तोड्नुपर्ने मनसाय महानगरले लिएको छ । यो काम जटिल छ तर हामीले नगरे कसले गर्ने ?’, उनले भनिन् ।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने महानगरको मनसाय रहेको भन्दै लायन्स भवन मापदण्ड विपरित तीन धुरमा निर्माण गरिएको उनले बताइन् । महानगरले पुंगी खाेला साैन्दर्यकरणकाे काम पनि गरिरहेकाे छ ।