चितवन जिल्ला क्रिकेट संघको साधारणसभा सम्पन्न

चितवन/चितवन जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघको कार्यालयमा चितवन जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

प्रमुख अतिथि ढकालले चितवन जिल्ला क्रिकेट संघले पछिल्लो समय क्रिकेट गतिविधि बढाएको भन्दै प्रशंसा गरे । चितवनमा चलायमान थोरै संघ मध्यको एक क्रिकेट संघ भएको भन्दै आगामि दिनमा अझै त्यसै कार्यक्रम गर्न सकोस् भन्दै शुभकामना दिए । संघको अधिवेशनको प्रमुख अतिथि आफू नै भएको स्मरण गर्दै नयाँ समितिले निकै राम्रो काम गरेको बताए । ‘त्यो बेला सामान्य भेटघाट मात्रै भयो, यस्तो जुझारी टिम होला भन्न मैले सोँचेको थिएन, सबै समिश्रण यो टिममा रहेछ, निकै खुशी लाग्यो’–प्रमुख अतिथि ढकालले भने ।
संघका अध्यक्ष सुदिप पियाले संघको एउटै मात्रै उद्देश्य धेरै भन्दा धेरै प्रतियोगिता गर्ने राम्रो खेलाडी उत्पादन गर्ने रहेको बताए । उनले अब पुरुष टिमसंगै महिला टिमलाई पनि विशेष प्राथमिकताका साथ अघि बढ्ने प्रतिवद्धता जनाए । ग्रासरुट क्रिकेट विकासका लागि संघ लागि परेको भन्दै पछिल्लो समय भरतपुर महानगरपालिकाको सहकार्यमा स्कुल क्रिकेटको समेत सुरुवात गरिएको बताए ।
कार्यक्रममा बोल्दै संघका सल्लाहकार एवं सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल ९वाइबी०ले सुदिप पिया नेतृत्वको संघले उत्कृष्ट कार्य गर्दै आएको भन्दै प्रशंसा गरे । उनले संघलाई आफ्नो साथ सदैव रहने प्रतिवद्धता जनाए । यस्तै अर्का सल्लाहकार सिद्धार्थलाल चुकेले पनि संघको राम्रो काम गर्दै आएको भन्दै आगामि दिनमा अझै राम्रो गर्न शुभकामना दिए । कार्यक्रममा सल्लाहकार अमर प्रधानलगायतको सहभागिता रहेको थियो । संघका उपाध्यक्ष उमेश पियाले स्वागत मन्तव्य व्यक्त गरे ।
साधारणसभामा संघका सचिव सुरज ज्ञवालीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।

यसैबीच साधारणसभाकै अवसरमा संघलाई सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई सम्मानसहित धन्यावद ज्ञापन गरिएको छ । लियोन मोटर्स, प्रिमो सेक्युरिटिज, सेन्ट्रल कलेज, हेल्दी च्वाइस, बीवाइडी, साधवी मोटर्स, चितवन मेडिकल कलेज, प्रभु बैंक, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन, भरतपुर महानगरपालिका, देव हस्पिटल, मैयाँदेवी फाउण्डेशनलगायतलाई धन्यवाद दिँदै सम्मान गरिएको थियो ।

साधारणसभा संघका अध्यक्ष सुदिप पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।