सेन्ट्रल कलेजमा बिएचएम र बिआइएम पढ्न पचास प्रतिशत छात्रबृत्ति पाउने

चितवन/भरतपुरको क्षेत्रपुरस्थित सेन्ट्रल मोडल कलेजले भरतपुर महानगरपालिकाका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ति दिने घोषणा गरेको छ । भरतपुर ओरालोमा रहेको कलेजले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर कलेजबाट सञ्चालित व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा छात्रबृत्ति घोषणा गरेको हो ।

कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले संविधान दिवसको अवसर पारेर बिशेष छात्रवृत्ति घोषणा गरेको बताउनुभयो । उहाँले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्द्धन गर्न कलेजमा सञ्चालित बिआइएम र बिएचएम अध्ययनका लागि भरतपुर महानगर भित्रका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने बताएका छन्।

भरतपुर महानगरपालिकाका २९ वटै वडाका एकरएक विद्यार्थी र यहाँका ३५ सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तिर्ण गरेका एकरएक विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ति प्रदान गरिने अध्यक्ष पौडेलले बताए। ‘विपन्न, जेहेनदार विद्यार्थीलाई वडाको निर्णयसहित सिफारिस र विद्यालयको हकमा विद्यालयको निर्णयसहितको सिफारिस आवश्यक पर्नेछ,उनले बताए, यसरी सहभागी हुने वडा र विद्यालयका विद्यार्थीले बिआइएम अथवा बिएचएम अध्ययनमा छात्रबृत्ती प्राप्त गर्नेछन ।’

छात्रवृत्ति अन्तर्गत बिएचएम अध्ययनका लागि लाग्ने चार बर्षको शुल्क ६ लाख मध्ये ३ लाख र बिआएएम अध्ययनका लागि लाग्ने शुल्क ५ लाख मध्ये २ लाख पचास हजार रुपैंयामा अध्ययन गर्न पाइने प्रिन्सिपल पौडेलले बताए। यस छात्रवृत्तिले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उत्कृष्ट उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने कलेजले अपेक्षा गरेको छ ।

यी कार्यक्रमहरूलाई सफलतापूर्वक सञ्चालन गर्न कलेजले आधुनिक प्रविधिमा आधारित कक्षाहरू सञ्चालन गरिरहेको छ । ‘यसले विद्यार्थीहरूलाई दक्षता विकासमा मात्र नभई उनीहरूलाई व्यवहारिक ज्ञान र सीपहरू प्रदान गर्न मद्दत गर्ने विश्वास कलेजले लिएको छ ।

सेन्ट्रल मोडल कलेजले ‘पढ्दै कमाउँदै’ अवधारणा अपनाएको छ । यसले विद्यार्थीलाई आर्थिक रुपले सक्षम हुने अवसर समेत प्रदान गर्ने अध्यक्ष पौडेलले बताउनुभयो । ‘विद्यार्थीहरूले पढाईको साथसाथै व्यवसायिक अनुभव पनि लिनेछन्, जुन उनीहरूको भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण हुनेछ,उनले भने। पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले तीन जना चेपाङ समुदायका छात्रछात्रालाई पूर्ण छात्रवृत्ति दिने यस अघिनै घोषणा गरिसकेको जानकारी दिए ।