भगवतीको मन्दिरमा महिलालाई प्रवेशमा रोक !

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका–५ स्थितको पवित्र महाँकाल भगवतीको मन्दिरभित्र पसी महिलाले भगवतीको दर्शन गर्न गर्नु हुँदैन भन्ने प्रचलन रहिआएकाले महिलालाई भगवतीको मूर्ति हेर्न र मन्दिरभित्र पस्न निषेध गरिँदै आइएको छ ।

पुजारीको काम गर्दै आएका सुजन बोहोराका अनुसार पौराणिक कालदेखि नै महिलालाई प्रवेश निषेध गरिएको छ । महाँकाल भगवतीले परेवा र पाठीको कलेजो र फोक्सो मात्र भोग खाने गरेको धार्मिक विश्वासका कारण महिला भित्र प्रवेश गरेमा अनिष्ट हुने र आँखा समेत बन्द हुने गरेको दाबी छ । एक पटक दर्शन गरेपछि मनको इच्छा पूरा हुने धार्मिक आस्थाको धरोहर मानिएकाले यो मन्दिरमा पुरुषले मात्र पूजाआजा र दर्शन गर्ने गरेका छन् ।

मन्दिरमा आएका जो कोही भक्तजनले यहाँ पूजा गरेको जल खाएको खण्डमा शरीरमा भएका धेरै रोग निको हुने धार्मिक विश्वास रहिआएको छ । चितवन, दैलेख, भोजपुर, सर्लाही, जनकपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछापका धेरै भक्तजन सुविधा सम्पन्न अस्पतालमा उपचार गरे पनि रोग निको नभएपछि पाठी र परेवाको भाकाल गरी यहाँ पूजाआजा गर्न आएका पुजारी बोहोराले सुनाए ।

यसरी पूजा गरेर रोग निको भयो भन्दै वर्षैपिच्छे दर्शनका लागि भक्तजन आउने गरेका छन् । मन्दिरको अगाडिपट्टि चौरासी वटा महादेवको मूर्ति स्थापना गरिएको छ । चैरासी वर्ष पुगेका दोलखा, रामेछाप र सिन्धुपाल्चोकका भक्तजन चौरासी गर्नका लागि यहाँ आउने गरेका छन् ।

यहाँ पूजा गरेको परेवा पाठीको मासु पौराणिक कालदेखि नै तोकिएको सिमानाबाहिर लान नहुने हुँदा भक्तजनलाई मासु पकाउन भाँडाकुँडाको व्यवस्था समेत गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।