अनेरास्ववियु सप्तगण्डकीको अध्यक्षमा प्रकाश सिललाव, सचिवमा समिर अधिकारी

चितवन/एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा प्रकाश सिलवाल चयन भएका छन् । सिलवाल सचिवबाट अध्यक्ष बन्न सफल भएका हुन् ।

आज बिहीबार क्याम्पसमा सम्पन्न २५ औँ क्याम्पस कमिटी अधिवेशनले सर्वसम्मतबाट सिलवालको नेतृत्वमा २५ सदस्यीय कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा दिलिप पराजुली, सचिवमा समिर अधिकारी, सहसचिवमा ऋषि रानाभाट, कशिष जोशी, निशान धमला र कोषाध्यक्षमा शिशिर अर्याल चयन भएका छन् ।

अधिवेशनको बन्दसत्रमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अमित गुप्ताको अध्यक्षतामा गठन गरिएको सात सदस्यीय अध्यक्ष मण्डलले नयाँ कमिटी घोषणा गरेको हो । बन्द सत्रको सञ्चालन अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले गरेका थिए । नव गठित कमिटीलाई अध्यक्ष मण्डलका अध्यक्ष गुप्ताले आजै सपथ ग्रहण गराएका छन् । त्यसैगरी आजै पद हस्तान्तरण समेत गरिएको छ ।

अधिवेशनमा अनेरास्ववियु क्याम्पस कमिटीका पूर्वअध्यक्षहरु र विद्यावारिदी गरेका सप्तगण्डकीका प्राध्यापकलाई सम्मान समेत गरिएको थियो । त्यसैगरी विभिन्न अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । सम्मलेनमा विद्यार्थीहरुले विभिन्न नाचका प्रस्तुती देखाएका थिए भने नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य अस्मिन घिमिरेले गीत गाएका थिए ।

अनेरास्ववियुका कन्द्रीय महासचिव नरेश रोकाया प्रमुख आतिथ्यता रहेको अधिवेशनमा रोकायासहित नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, अनेरास्ववियु केन्द्रिय सचिव तथा प्रवक्ता प्रकाश पौडेल, एमाले चितवनका अध्यक्ष कमल पाठकले उद्घाटन सत्रलाई संवोधन गरेका थिए । उद्घाटन सत्र क्याम्पस कमिटीका निवर्तमान अध्यक्ष महेस सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन निवर्तमान दिवाकालीन संकाय विभाग प्रमखु अर्जुन अर्यालले गरेका थिए ।

अनेरास्ववियु चितवन यतिखेर क्याम्पस अधिवेशन गर्ने अभियानमा जुटेको छ । विभिन्न क्याम्पसहरुमा यसै महिना अधिवेशन सम्पन्न भएका छन् भने आगामी महिना पनि विभिन्न क्याम्पसको अधिवेशनको मिति तय गरिएको छ ।