एमालेमा द्धन्द्ध चर्कने संकेत: भीम रावलको भेलामा खुलेर जान थाले एमाले कार्यकर्ता !

टीकापुर/नेकपा एमालेका नेता डा।भीमबहादुर रावलले सुदूरपश्चिममा छलफल र अन्तरक्रियालाई तीव्र बनाएका छन् । केही अघिसम्म गृह जिल्ला अछाममा मात्रै केन्द्रित उनी अहिले सुदूरपश्चिमका अन्य जिल्लामा पुग्न थालेका छन् ।

रावल जिल्ला जिल्ला पुग्न थालेपछि उनका कुरा सुन्न एमाले कार्यकर्ताले चासो दिन थालेका छन् । हाल कैलाली रहेका रावलले टीकापुर, लम्कीचुहा, बर्दगोरिया, अत्तरिया क्षेत्रमा भेला र छलफल गरेका छन् । रावलका कुरा सुन्न एमालेका अगुवा कार्यकर्ताहरू जम्मा हुन थालेका छन् । छलफलमा एमालेका प्रदेश, जिल्ला, गाउँ तथा नगर र वडाको जिम्मेवारीमा रहेका अगुवा कार्यकर्ताले अब नयाँ पार्टी बनाएर अघि नबढ्न पनि सुझाएका छन् ।

अर्को थरीले कुनै पार्टीमा जाने कुरा उचित नहुने बताउँदै पार्टी नछाड्न, बरु टिकेर बसिरहन पनि सुझाएका छन् । शुक्रबारको टीकापुरमा भएको भेलामा पुराना नेता शिवदत्त उप्रेतीले एमालेमै रहेर संघर्ष गर्दा पार्टी अध्यक्ष र प्रधानमन्त्री हुने सम्भावना रहेको पनि रावललाई सुझाए । रावलको क्षमता, विद्धता र देशभक्तिको प्रशंसा गर्दै उनले एमाले अध्यक्ष केपी ओलीसँग कसरी मिलेर जान सकिन्छ भन्ने कुरामा प्रयत्न गर्नुपर्ने सुझाव दिए ।