अनियमिततामा स्वास्थ्यमन्त्री पौडेलको लालमोहर: मिलेमतोमा खरिद भएका मेसिनको उद्घाटन गर्दै, हिँड्दै

काठमाडौं/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मिलेमतोमा खरिद भएका मेसिनको एकपछि अर्को उद्घाटन गरेका छन्। खरिद विवाद भएका भरतपुर अस्पतालको एमआरआई मेसिन, भक्तपुर क्यान्सर अस्पतालको सिटी स्क्यान मेसिन र राष्ट्रिय ट्रमा सेन्टरले खरिद गरेको मोडुलर अप्रेटिङ थिएटर (ओटी)को उद्घाटन गरेका हुन्।

यी तीनै मेसिन तथा उपकरण निश्चित कम्पनिसँगको मिलेमतोमा खरिद भएका हुन्। जुन विषयमा उकेराले निरन्तर रुपमा सेटिङको सप्रमाण समाचार सम्प्रेषण गर्दै आएको छ। मन्त्री पौडेलले खरिदमा भएका अनियमितताको विषयमा छानबिन गर्नुका साथै आगामी दिनमा अनियमितता हुन नदिन बलियो नीति नियम बनाउन सक्रिय हुनुपर्ने हो। तर, सेटिङ गरेर खरिद भएका मेसिन तथा उपकरणको उद्घाटन गर्दा मन्त्रीले अनियमिततालाई लालमोहर लगाइरहेका छन्।

मन्त्री पौडेलले भरतपुर अस्पतालले कमिसनको सेटिङ गरी खरिद गरेको एमआआरई मेसिन भदौ २४ गते उद्घाटन गरे। अस्पतालले छ करोडभन्दा बढी कमिसनको सेटिङमा २९ करोड ५८ लाख ६५ हजारमा मेसिन उत्पादक कम्पनी सिमेन्सको नेपाली सप्लायर्स इष्ट वेस्ट कन्सर्न प्रालिसँग ‘थ्री टेस्ला एमआरआई मेसिन’ किनेको थियो।

भरतपुर अस्पतालका तत्कालीन निमित्त मेडिकल सुपरिटेन्डेन्ट (अस्पताल प्रमुख) डा. कृष्णप्रसाद पौडेलको सक्रियतामा अधिकतम २३ करोडमा आउने एमआरआई मेसिन ६ करोड बढी मूल्यमा खरिद भएको थियो। हाल उनै डा. पौडेल भरतपुर अस्पतालको प्रमुख छन्।

अस्पतालले ६ करोडभन्दा बढी मूल्यमा खरिद गरेको एमआरआई उद्घाटन भएसँगै मन्त्री पौडेलको नाम पनि अस्पतालका भित्तामा ‘ताम्र पत्र’मा राखिएको छ। ताम्र पत्रको सबैभन्दा माथि लेखिएको छ( ‘सर्वे सन्तु निरामयाः’

यसको नेपाली अर्थ ‘सबै निरोगी रहुन्’ भन्ने हुन्छ। तर, स्वास्थ्यमन्त्री पौडेलले भने खरिद अनियमितताको रोगले ग्रस्त भएको एमआरआईको उद्घाटन गरेर खरिदमा भएको अनियमिततालाई अझ प्रोत्साहित गरे।

एमआरआई उद्घाटन भइसकेपछि अस्पतालका प्रमुख डा। पौडेल र अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल खुसी देखिन्थे। अनियमित तरिकाले खरिद भएको एमआरआईको उद्घाटन गरेर मन्त्रीले नै लालमोहर लगाइदिएपछि खरिद अनियमितता ओझेलमा पार्ने उनीहरूको तत्कालीन रणनीति सफल पनि भयो।

अस्पताल विकास समितिका अध्यक्ष पौडेल पनि एमआरआईमा भइएरहेको खरिद अनियमितताको प्रक्रिया थाहा पाउँदा समेत मौन देखिएका थिए। त्यसैले यसमा उनको समेत भूमिका संकास्पद छ।

उद्घाटनपछि अस्पताल प्रमुख डा. पौडेलले ‘नेपालमा यो लेटेष्ट मेसिन हो’ भन्दै मन्त्री पौडेललाई ब्रिफिङ गरे। डा। पौडेलले स्वास्थ्य मन्त्रालयले २५ करोड दिएको अनि अस्पताल विकास समितिबाट पाँच करोड निकासा गरेर एमआरआई खरिद गरेको भन्दै मन्त्री पौडेललाई जानकारी गराए।

‘२५ करोड मन्त्रालयले दिएको थियो,’ डा. पौडेलले उद्घाटन कार्यक्रममा मन्त्रीलाई भने, ‘किनिसकेपछि लेटेष्ट किनौं भनेर पाँच करोड विकास समितिले थपेर ३० करोडमा किनेको।’

अस्पताल प्रमुख डा. पौडेलले लगायतका चिकित्सकले एमआरआईको ब्रिफिङ गरिरहँदा मन्त्री पौडेलले भने ध्यानपूर्वक सुनेर ‘अँ।।।अँ।।। ठिक छ।।।’ भने। त्यसपछि एमआरआईको उद्घाटन कार्यक्रममा बोलेका मन्त्री पौडेलले अस्पताल सुधारको लागि केही निर्देशन समेत दिए।

उद्घाटनअघि नै बिग्रिएको थियो एमआरआई
स्पेशिफिकेशन लक गरी मिलेमतो गरेर महँगोमा किनिएको भरतपुर अस्पतालको एआरआई मेसिन चलाउन थालेको एक हप्तामै बिग्रिएको थियो।

२०८१ जेठ १८ मा अस्पताल आइपुगेको मेसिन असार २५ बाट सञ्चालनमा आएकोमा साउनको १६ गते बिग्रियो। अस्पतालले एक सूचना निकालेर चट्याङका कारण एम्ल्फिायर बिग्रिएकाले त्यसलाई मर्मत गरी साउन २४ गतेबाट पुनः सञ्चालनमा ल्याएको जानकारी गरायो।

अस्पतालमा एमआरआई, सिटी स्क्यान जस्ता मेसिन तथा उपकरण जडान गर्नु पूर्व नै चट्याङलगायतका विद्युतीय हाइभोल्टेजबाट हुने समस्याबाट मेसिन जोगाउन अर्थिङ राखिन्छ। त्यतिमात्रै हैन, युपिएसलगायतका भोल्टेजसँग सम्बन्धित मेसिन जोगाउनेलगायत सबै काम मेसिन जडान गर्नुपूर्व नै गर्नुपर्ने हुन्छ। तर, कुनै तयारी गरेको देखिएन।

भरतपुर अस्पतालले खरिद गरेको एमआरआईको ८० प्रतिशत भुक्तानी भइसकेको छ। अस्पताल स्रोतका अनुसार बाँकी २० प्रतिशत रकम भुक्तानी हुने प्रक्रियामा रहेको छ।

मेसिन उत्पादक कम्पनी सिमेन्स (सप्लायर्स इष्ट वेस्ट कन्सर्न) लाई नै टेन्डर दिने गरी मिलेमतोमा अगाडि बढेको टेन्डरबारे स्वास्थ्य मन्त्रालयले छानबिन समेत गरेका थियो। स्पेशिफिकेशन लक्ड देखिए पनि खरिद भने रोकिएन। उत्पादकको नेपाली सप्लायर्सले नै टेन्डर पायो।

यो खरिदमा स्वास्थ्य सचिव डा। रोशन पोख्रेलको समेत विशेष चासो देखिएको थियो। मिलेमतोमा भइरहेको खरिद प्रक्रियाबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गर्दा सचिव डा। पोख्रेल छानबिन भन्दा खरिद प्रक्रिया टुंग्याउन सक्रिय थिए।

अस्पताल प्रमुख डा. पौडेलले ‘मिलेमतो छैन’ भन्दै मिलेमतोमै सामान किने र खरिदमा भएको अनियमितता ढाकछोप गर्ने प्रयास स्वरुप स्वास्थ्य मन्त्री पौडेलबाट उद्घाटन समेत गराए।

जुनियर दशौं तहका अर्थोपेडिक सर्जन डा। पौडेल मिलेमतोमा स्वास्थ्य उपकरण किन्न माहिर खेलाडी हुन्। हाल तेस्रो पटक भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (अस्पताल प्रमुख) को भूमिकामा छन्।

निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप यादवले जेठ २३ मा ११औं तहका डा. श्रीराम तिवारीलाई हटाउँदै दशौं तहका जुनियर डा। पौडेललाई भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट बनाएका थिए।

भक्तपुरको सिटी पनि उद्घाटन
त्यसैगरी भक्तपुर क्यान्सर अस्पतालले तीन करोड बढी मूल्य तिरेर मिलेमतो गरेकै कम्पनीसँग खरिद गरेको सीटी स्क्यान मेसिनको समेत स्वास्थ्य मन्त्री पौडेलले भदौ १५ गते उद्घाटन गरे।

अस्पतालले इष्ट वेष्ट कन्सर्न प्रालिसँग नै १७ करोड २६ लाख ४६ हजार चार सय ६० रुपैयाँमा सीटी स्क्यान मेसिन खरिद गर्ने निर्णय गर्दै असार २४ गते सूचना जारी गर्यो। अस्पतालले अधिकतम १४ करोड मूल्यमा आउने सीटी स्क्यान मेसिन साढे तीन करोडभन्दा महँगोमा खरिद गर्ने गरी बोलपत्र स्वीकृतको निर्णय गर्यो।

अन्त्यमा अस्पतालले जसलाई सिटीको टेण्डर दिने भनेर खरिद प्रक्रिया अगाडि बढाएको थियो, उसैलाई टेण्डर दिएर सेटिङ अनुसार नै सिटीको टेण्डर स्वीकृत भयो।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा। उज्ज्वल चालिसेका अनुसार सिटीको सम्पूर्ण भुक्तानी समेत भइसकेको छ।

ट्रमाको मोडुलर ओटी पनि दुई पटक उद्घाटन
भरतपुरको एमआरआई मात्रै हैन छ हप्ताअघि राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले स्वास्थ्यमन्त्री पौडेललाई ट्रमा सेन्टरको मोडुलर अप्रेटिङ थिएटर ९ओटी० को दुई पटक उद्घाटन गराए।

वीर अस्पतालको वार्षिकोत्सवमा सहभागी हुन जाँदाजाँदै मन्त्री पौडेललाई डा। मरासिनीले ट्रमा सेन्टरमा लगेर पहिलो पटक मोडुलर ओटी उद्घाटन गराए।

ट्रमाबाट मन्त्री वीरको १३५औं वार्षिकोत्सव स्थल (अस्पतालको सर्जिकल भवन) बाट समेत डा. मरासिनीले स्वास्थ्य मन्त्री पौडेलबाट पुनः त्यही ट्रमा सेन्टरको मोडुलर ओटीको उद्घाटन गराएका थिए। एकै दिन दुई पटक उद्घाटन गरेको मेसिन खरिदको पृष्ठभूमि अझ रोचक छ।

खरिद नियमलाई मिचेर ट्रमा सेन्टरले ‘म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि, काठमाडौं’ सँग नौ करोड ७८ लाख १८ हजारमा पाँच वटा मोडुलर अप्रेटिङ थिएटर (ओटी) किनेको थियो।

त्यो बेला खरिद प्रक्रिया अपारदर्शी देखिएपछि सो उपकरणको भुक्तानी रोकिएको थियो। भुक्तानी नै रोकिएपछि डा। मरासिनीले रोकिएको भुक्तानी खुलाउन मन्त्रीबाटै दुई पटक उद्घाटन गराएका थिए।

बदमासी नै बदमासी
तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा भरतपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्वास्थ्य उपकरण खरिद प्रक्रियाबारे छानबिन गर्न समिति गठन भएको थियो।

भरतपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालले एक कम्पनीको उत्पादनसँग मात्र मिल्ने गरी मापदण्ड बनाएर अगाडि बढाएको एमआरआई र सिटी स्क्यानको टेन्डरबारे उक्त समिति मौन बसेको थियो।

चार वटा अस्पतालका स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे छानबिन गर्न गठित समितिले निश्चित कम्पनीले दायर गरेको टेन्डरमा भएको बदमासी लुकाउँदै दुई वटा टेन्डरबारे मात्र प्रश्न उठाएको खुलेको थियो।

उकेराले प्राप्त गरेको प्रतिवेदनमा भरतपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालले एक कम्पनीको उत्पादनसँग मात्र मिल्नेगरी मापदण्ड बनाएर अगाडि बढाएको एमआरआई र सिटी स्क्यानको टेन्डरबारे प्रतिवेदन मौन बसेको थियो। यो सामाग्री हामीले उकेरा डटकमबाट साभार गरेका हौं ।