वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ/वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, कुवेत, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने सिराहा, सिरहा नगरपालिका–७ घर भएका ३० वर्षीय सुशान्त सिंह, काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने कपिलवस्तु कृष्णनगर नगरपालिका–११ घर भएका ३६ वर्षीय सल्लउदिन वेग र काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–८ हात्तिगौडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका छन् ।

पक्राउ मध्ये सुशान्तले २ जना पीडितबाट ८ लाख ४० हजार रुपैयाँ, सल्लउदिनले २ जना पीडितबाट ७ लाख २० हजार रुपैयाँ र राजुले ३ जना पीडितबाट ८ लाख २५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुशान्तलाई काठमाडौँ कोटेश्‍वरबाट, सल्लउदिनलाई काठमाडौँ सिनामंगलबाट र राजुलाई काठमाडौँ हात्तिगौडाबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।