चितवनका एमाले नेता कार्यकर्तासँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको भेट

चितवन/भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चितवनका एमाले नेता कार्यकर्तासँग भेट गरेका छन् । आज पार्टी कार्यालय चितवनमा भेटवार्ता भएको हो । भेटका क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्रको माडी जाने बाटो धुलोरहित, राम जन्मभूमि अयोध्याधाम, राजधानी समेत रहेको बागमती प्रदेशमा भारतसँग जोड्ने व्यापारिक नाका, हुलाकी राजमार्ग, ठोरी केरुङ् राजमार्ग, नारायणगढ मुग्लिन सडकखण्ड, नारायणी, राप्ती, रेवा नदी तटबन्धन, प्रतावित शक्तिखोर औद्योगिक क्षेत्र, प्रस्तावित रेल मार्ग, भरतपुर रिङ् रोड, नारायणगढ बुटवल सडकखण्ड, नारायणगढको पुल्चोक गोन्द्राङ् सिक्स लेन सडक विस्तार, प्रस्तावित वाल्मिकि आश्रमदेखि गोद्धक हुँदै अयोध्याधाम माडी जोड्ने धार्मिक मार्ग लगायतका विषयमा नेता कार्यकर्ताले विषय उठाएका छन् ।

सुरु नभएका प्रस्तावित कामहरुको सुरु गर्ने योजनाका बारेमा चासो राखेका थिए भने सुरु भइसकेका कामहरुको प्रगति र ढिलासुस्तीका बारेमा चासो राखेका एमाले चितवनका उपाध्यक्ष श्याम कुमार विष्टले जानकारी दिए । सो अवसरमा मन्त्री दाहालले चालु रहेका विकास निर्माणका काम समयमा सक्ने कुरामा सरकार गम्भीर रहेको बताए । त्यसैगरी नयाँ प्रस्तावित विकास निर्माणका बारेमा आवश्यक अध्ययन गरी काम अगाडि बढाउनेतर्फ सरकार लाग्ने बताए । उनले विकास निर्माणका काममा नागरिक स्तरबाट अनुगमन तथा निरीक्षण एवम् आवश्यक सुझाव गर्न समेत नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले चितवनका अध्यक्ष कमल राज पाठकको अध्यक्षता सम्पन्न भएको भेटघाट कार्यक्रम एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेका थिए । भेटघाट कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु कपिलदेव पोखरेल, प्रभा बराल, यम बहादुर परियार, केन्द्रीय सल्लाहकारहरु हरि सापकोटा, डा त्रिचन्द्र भट्टराई, सुर्य शर्मा, एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, बागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, जिल्ला समन्वयन समिति चितवनका प्रमुख नारायण अधिकारी, प्रदेश र जिल्ला कमिटीका नेताहरु, पालिकाका प्रमुख र उपप्रमुखहरु, पार्टी पालिका कमिटीका अध्यक्षहरु लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको एमाले चितवनका उपाध्यक्ष श्याम कुमार विष्टले जानकारी दिए ।