सहकारी संस्था समुदाय लक्षित हुनुपर्छ: प्रमुख दाहाल

चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदाय लक्षित हुनुपर्ने बताउनुभएको छ । भरतपुर ९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा खाद्य गोदामको शिलान्यास गर्दै प्रमुख दाहालले स्थानीय सरकार र सहकारी समुदाय केन्द्रित भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘अहिले सहकारीमा समस्या देखिएको छ, उहाँले भन्नुभयो,‘सबै सहकारीहरुले मर्म विपरित काम गरेका छैनन । यही समयमा राम्रो पनि सहकारी छन् भन्ने सन्देश दिन आवश्यक छ ।’

प्रमुख दाहालले कृषिको क्षेत्रमा महानगरले धेरै काम गर्दै आएको र यस वर्ष सिँचाईको क्षेत्रमा काम गर्न लागेको बताउनुभयो । नारायणी लिफ्ट सिँचाईलाई हिउँदमा पनि सञ्चालन गर्ने गरी बजेट विनियोजना गरिएकाले अब थप काम अघि बढ्ने उहाँको भनाई थियो । यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीको जननी जिल्ला भरतपुरले सहकारी र समुदायसँगको सहकार्यको सन्देश देशभर प्रवाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले यसलाई जगदेखि नै बलियो राख्ने कार्य सबैको भएको उहाँको भनाई थियो । सहकारीले सञ्चालन गरेको खाद्य उद्योगको मिलमा धान निःशुल्क रुपमा कुटाइने जनाइएको छ । ढुटो छोड्दा प्रतिकेजी एक रुपैयाँका दरले रकम फिर्ता गर्ने गरेको छ । अन्य खाद्यान्न कुटनी र पिसनीमा पनि स्थानीय मिलमा भन्दा कम दररेट कायम गरिएको छ । 

त्यस्तै तोरी पेल्दा पिना छोड्नेलाई प्रतिकेजी पाँच रुपैयाँ दिने र पिना लानेलाई प्रतिकेजी ८ रुपैयाँ लिने गरेको सो संस्थाको दररेटमा उल्लेख गरिएको छ ।तोरीको तेल, पिना र अन्य खाद्यान्न किन्दा पनि अन्य स्थानीय मिल र पसलमा भन्दा सस्तोमा किन्न पाइन्छ । तोरी तेल प्रति लिटर ३ सय ४०, धानको ढुटो प्रतिकेजी ३५ रुपैयाँमा विक्री वितरण गरिएको सहकारीका अध्यक्ष वेदप्रसाद सापकोटाले बताउनुभयो । संस्थाका सदस्यलाई पिना प्रतिकेजी ३५ रुपैयाँ, गैर सदस्यलाई ३८ रुपैयाँमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

एक पटकमा ५० केजीसम्म पिना किन्न पाइन्छ ।
सहकारीले सञ्चालन गरेको मिलमा कुटनी, पिसनी र पेलानी लगायत खाद्यान्न किन्दा सस्तो र भरपर्दो भएपछि स्थानीयको आर्कषण बढेको छ ।
कार्यक्रममा भरतपुर वडा नं ९ का अध्यक्ष यमलाल कँडेल, ८ का अध्यक्ष जीवनाथ कँडेल, १२ का अध्यक्ष लेखराज पन्त, ८ का वडा सदस्य पूर्णबहादुर रानाभाटले मन्तव्य राख्नुभएको थियो ।