भरतपुर महानगरले दियो २ सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

चितवन/  भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि दुई सय ६६ विद्यार्थी ले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्य विधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।प्रमुख
 दाहालले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रुपमा ठूलो फड्को मारेको छ ।” शिक्षामा सबैको पहुँच पु:याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उहाँले बताउनुभयो ।

“शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ ।” वितरणलाई अझै प्रभावकारी र वैज्ञानिक बनाउँदै लगिने उहाँले बताउनुभयो । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालय सरह बनाउने गरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उहाँको भनाइ थियो । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई आईतबार सिफारिसपत्र वितरण गरिएको छ ।

अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको छ ।‘जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ’, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भन्नुभयो । ३० संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना रहेका छन् ।

छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका ८, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ जना रहेका छन् ।जसमध्ये अरोमा कलेज ४५ जना, अर्किड कलेज ३० जना, बालमीकि शिक्षा सदन २५ जना, नारायणी पब्लिक कलेज २४ जान, गुरुकुल एकेडमी १८ जना, एपेक्स एकेडमी १३ जना, सप्तगण्डकी कलेज ९ जना, अंकुरम एकेडमी ९ जना, अरबिट यूनिक स्कुल ९ जना र अन्य स्कुल गरी २६६ जनाले छात्रवृत्ति पाएका छन् । महानगरले वार्षिक रुपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले २ सय ७४ जनालाई छात्रवृति दिएको थियो ।