तनहुँ दुर्घटनका मृतकको शव भारतीय एयरफोर्सको जहाजबाट भारत लगियो

चितवन/तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव भारत लगिएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपरान्ह भरतपुर बिमानस्थलबाट भारत लगिएको हो ।

मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट लगिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ लगिएको छ ।

मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि भरतपुर आउनुभएको थियो । उहाँपनि सोही जहाज चढेर जानुभएको छ ।

मृतक यात्रुका शव शुक्रबार रातीनै आबुखैरहनीबाट भरतपुर ल्याइएको थियो । पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान ११ः३० बजेको समयमा तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खस्दा पशुपतिनाथमा दर्शनका लागि हिडेका २७ पर्यटकको मृत्यु भएको हो । मृतकमध्ये १५ जना महिला, ११ जना पुरुष र एक जना चार बर्षकी बालिका रहेकी छन । घाइते हुनेहरुमा ६ जना पुरुष र १० जना महिला रहेका छन ।

प्रहरीका अनुसार बसमा सवार ४३ जना सवार थिए । घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ । मृतक र घाइते हुनेमा भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका हुन ।

शुक्रबार बिहान पोखराबाट आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खसेको थियो । दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।