लोडसेडिङको अन्त्य भएको, अब विद्युत् निर्यात गर्ने छौँ : कुलमान घिसिङ

काठमाडौँ/नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताएका हुन् ।

उनले भने, ‘विभिन्न आरोह अवरोहकाबिच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ औँ वर्ष पार गरेको छ । आठ वर्ष अघि वर्षायाममा समेत दैनिक आठ,नौ घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुनुपरेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको छ ।

हाल वर्षायाममा देशभित्र खपत गरि दैनिक सात सय मेगावाट भन्दा बढी निर्यात गर्ने अवस्थामा पुगेका छौँ । २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका छौँ ।

साथै उनले प्राविधिक कारणले केही छिन विद्युत् अवरुद्ध भए पनि गर्वका साथ लोडसेडिङ अन्त्य भएको जिकिर गरे । उनले वर्षायाममा विद्युत् भारत निर्यात गरि बिदेसी मुद्रा आर्जन गर्नुका साथै व्यापार घाटा कम गर्न विद्युत् प्राधिकरण सफल भएको बताए ।