साना वामपन्थी पार्टीमा रोकिएन पहिरो

काठमाडौँ/एक महिनाको बिचमा मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी दुई पटक विभाजन भयो । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट चोइटिएर बनेको नेकपा बहुमत र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट अलग भएको सन्तबहादुर नेपाली समूहसँग एकता गरी महाधिवेशनको तयारीमा थिए वैद्य ।

तर एकता प्रक्रियाबाट सहसंयोजक धर्मेन्द्र बास्तोला समूह अलग्गिएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई ठुलो धक्का लागेको छ । पार्टीको कार्यदिशा वैज्ञानिक समाजवादी हुने कि नहुने भन्ने विषयमा वैद्य र बास्तोलाबिच मतभेद बढेपछि साउन १ गते पार्टी विभाजन भएको थियो ।

यद्यपि वैद्य पक्षीय नेताहरूले पदीय स्वार्थ नमिल्दा एकता प्रक्रियाबाट बास्तोला भागेको आरोप लगाएका छन् । एकता भएको एक वर्ष पाँच महिनामै विभाजन भएपछि संयोजक वैद्यले साउन २६ देखि २९ सम्म महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका थिए ।

तर आयोजक समितिको बैठक चलिरहेको बेला साउन २८ गते सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने ९संकूल०, हरिकृष्ण गजुरेल ९भाष्कर० र वसन्त बोगटी नेतृत्वमा युवा नेताहरूले विद्रोह गरे । जसमा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही ९अर्जुन०, इन्दिरा अधिकारी ९वर्षा०, हरिब खाँ ९विशाल०, शिलु न्यौपाने ९रोशी० र सुनिता बुढाथोकीले साथ दिए ।

पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै आयोजक समितिले न्यौपानेसहित ८ जनालाई निष्कासन गरेको छ । पार्टीको हित विपरीत गतिविधि गरेकाले निष्कासन गरेको नेता हुकुम सिंहले रातोपाटीलाई बताए ।

‘उहाँहरू पार्टीको विधि, प्रक्रिया र पद्धतिभन्दा बाहिर गएर गतिविधि गर्नुभयो । कहिले विप्लवमा जाने, कहिले प्रचण्डमा जाने धम्की दिँदै पदको बार्गेनिङ गर्नुभयो । कार्यदिशा वा सिद्धान्तमा असहमति भएर होइन, व्यक्तिगत स्वार्थ र आफ्ना मान्छेको स्वार्थ पूरा नभएपछि पार्टी छोड्नुभयो’, सिंहले भने ।

जनयुद्धका मुख्य योजनाकार, मार्क्सवादी सिद्धान्तकार, शास्त्रीय चिन्तकसमेत रहेका वैद्यमाथि जडसूत्रवादी चिन्तन हाबी भएको आरोप लाग्ने गरेको छ । माओवादी अध्यक्ष प्रचण्डसँग अन्तरसंघर्ष चर्किएपछि २०६९ असार ५ गते ३० प्रतिशत हिस्सासहित उनले पार्टी विभाजन गरेका थिए । प्रचण्डले जनयुद्धलाई धोका दिएको, क्रान्तिकारी कार्यदिशा छाडेर घोर दक्षिणपन्थी बाटोमा पार्टीलाई बिर्सजन गर्न लागेको उनको आरोप थियो ।

त्यतिबेला विभाजनलाई रामबहादुर थापा ‘बादल’, सीपी गजुरेल, पम्फा भुसाल, देव गुरुङ, नारायण शर्मा, नेत्रविक्रम चन्द ‘विप्लव’, हरिभक्त कंडेल, कुलप्रसाद केसी, हेमन्तप्रसाद ओली, धर्मेन्द्र बास्तोला, जयपुरी घर्ती लगायत चर्चित नेताहरूले साथ दिएका थिए ।

 

त्यस बिन्दुबाट भएको विभाजनको शृङ्खला १२ वर्ष बितिसक्दासमेत जारी छ । यस बिचमा क्रान्तिकारी कम्युनिस्टमात्रै आधा दर्जन टुक्रामा विभाजन भइसकेको छ । एनेकपा माओवादीबाट विभाजन भएपछि सुरूमा वैद्यले आफ्नो पार्टीको नाम नेकपा–माओवादी राखेका थिए ।

तर वैद्य जनविद्रोहमा जान आनाकानी गरेको आरोप लगाउँदै विप्लव समूहले २०७१ मङ्सिर ८ गते पार्टी विभाजन गरे । पहिलो पटक विभाजनपछि पार्टी पुनर्गठन गर्दै वैद्यले पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राखे । विप्लवले पार्टीको नाम नेकपा–माओवादी नै राखे ।

०७४ को निर्वाचनअघि विप्लवले पार्टीको नाम परिवर्तन गरी नेकपा बनाए । एकीकृत जनक्रान्तिको कार्यदिशा अँगाल्दै उनी भूमिगत भए ।

पार्टीबाट विप्लव समूह अलग भए पनि विभाजनको क्रम रोकिएन । वैद्यको कार्यनीतिप्रति असहमति जनाउँदै बादल, गुरुङ, भुसाल, शर्मा, घर्ती, केसी लगायत नेताहरू २०७३ जेठ ६ गते पुनः नेकपा माओवादी केन्द्र फर्किए । चार वर्षबिचमा यो दोस्रो विभाजन थियो । त्यसपछि स–साना घटकलाई साथ लिएर वैद्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरे । अहिले जनयुद्ध लडेका मूल नेतृत्वमध्ये वैद्यलाई सीपीले मात्र साथ दिएका छन् । युद्धकालदेखि साथ दिएका नारायण शर्माले अहिले छुट्टै पार्टी चलाएर बसेका छन् ।

विप्लव नेतृत्वको नेकपामा झन् धेरै विभाजन
टुटफुट र विभाजनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टीमात्र होइन, नेकपासमेत अछुतो छैन । वैद्यबाट अलग्गिएर एकीकृत क्रान्तिमा लागेका विप्लव झण्डै दुई वर्ष भूमिगत भए । तर राज्यशक्तिका अगाडि नेकपालाई ठुलो धक्का लाग्यो ।

०५२ मा जस्तै जनताको साथ पाउने अपेक्षा गरेका उनको क्रान्तिलाई जनताले समर्थन गरेनन् । परिणामस्वरूप पार्टीले ठुलो धक्का खाएपछि २०७६ फागुनमा सरकारसमक्ष तीन बुँदे सहमतिमार्फत शान्तिपूर्ण खुला राजनीतिमा उनी आएका थिए ।

 

नेतृत्व क्रान्तिकारी बाटो छोडेर दक्षिणपन्थी संसदीय भासमा जान खोजेको आरोप लगाउँदै बास्तोला र वलीले विप्लवको कडा विरोध गरेका थिए । उनीहरूको विरोध पार्टीहित विपरीत भएको ठहर गर्दै विप्लवले २०७९ वैशाख १४ गते पार्टीबाट निष्कासन गरेका थिए ।

नेकपाबाट चोइटिएर झण्डै आधा दर्जन पार्टी गठन भइसकेको छ । निर्वाचन आयोगमा दर्ता भएका नेकपा ९माओवादी समाजवादी०, नेकपा ९समाजवादी०, नेकपा ९परिवर्तन०, नेकपा ९बहुमत० लगायत स–साना दलहरू अस्तित्वमा छन् ।

बाबुरामको उस्तै हालत
जनयुद्धका योजनाकार, बौद्धिक तथा वैचारिक नेता डा। बाबुराम भट्टराईले नयाँ वैकल्पिक शक्ति गठन गर्ने उद्घोष गर्दै ०७२ साल असोज ९ गते माओवादी केन्द्रबाट अलग भएका थिए । प्रचण्डको ढुलमुले अवसरवादी चरित्र र विश्वबाट पतनउन्मुख भएको कम्युनिस्टको नेतृत्वमा समाजवादी क्रान्ति हुन नसक्ने निष्कर्ष निकालेर ०७३ जेठ ३० गते उनले नयाँ शक्ति पार्टी गठन गरे ।

तर ०७४ को निर्वाचनमा देशभर चर्चा पाए पनि समर्थन पाउन सकेन । अन्ततः उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा उनले पार्टी विलय गराए ।

 

त्यसपछि जनता समाजवादी हुँदै नेपाल समाजवादी गठन गरेका भट्टराईले विभाजनको पीडाबाट अहिलेसम्म छुटकारा पाउन सकेका छैनन् । युद्धकालदेखि भट्टराईलाई सहयोग गरेका गंगानारायण श्रेष्ठ, विश्वदीप पाण्डे समेतले साथ छोडेका छन् । ०७९ को निर्वाचनपछि मूल घर माओवादी केन्द्रमै फर्किन तयारी गरिरहेका बेला अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले ०८० चैत ३ गते पार्टी विभाजन गरेका थिए । भट्टराई अहिले महाधिवेशनको तयारीमा छन् । यादव समूह माओवादीसँग एकताको तयारीमा छ ।

टुटफुट र विभाजनबाट कमजोर बनेको नेकपा ९माओवादी केन्द्र० अहिले यिनै स–साना माओवादी घटकहरूलाई साथ लिएर पार्टी पुनर्गठन गर्ने तयारीमा छ । यसअघि २०७३ मा एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा माओवादी विद्रोही समूह, नयाँ शक्ति नेपाल, गौरवशाली पार्टी, वामपन्थी एकता मञ्च, स्वतन्त्र रूपमा रहेकी जयपुरी घर्ती मगर लगायतलाई समेटेर माओवादी केन्द्र बनेको छ ।

चोइटिएर वा फुटेर गएको अन्य घटकको तुलनामा कम क्षति भएको माओवादी केन्द्रमा पछिल्लो समय वैचारिक मतभेद देखिएको छ । १२ वर्षमा माओवादी केन्द्रबाट वैद्य समूह, बादल समूह, गोपाल किराती समूह, मात्रिका यादव समूह अलग भएकोमा यादव समूह पुनः माओवादीमै फर्किएको छ ।

 

प्रतिक्रिया: २०८१ साल वैशाख १७ गते वैद्य नेतृत्वको पार्टीबाट सचिवालय सदस्य कमरेड पूर्णबहादुर सिंह समरजङ्ग्को नेतृत्वमा १५ हाराहारीमा केन्द्रीय स्तरका नेताहरूले बहुमत र क्रामाबिचको एकता भङ्ग भएको घोषणा गर्दै श्रमिक कम्युनिस्ट पार्टी नेपाल गठन गरेका छन् र उक्त पार्टी अहिले देशव्यापी जनतामा जाउँ, जनताको सेवा गरौँ अभियान सन्चालन गरिरहेको छ । धर्मेन्द्रजीहरूले त भर्खरै मात्र उक्त पार्टी छोड्नुभएको हो ।