को बन्ला मोदीको राजनीतिक उत्तराधिकारी ?
एजेन्सी/नयाँ दिल्ली/केही अघिसम्म भारतका पान होस् वा चिया पसल, टेम्पोमा होस् वा विमानमा नरेन्द्र मोदीका समर्थकहरू मोदी होइन भने को त ? भनेर सोध्ने गर्थे । मोदीको ठाउँ लिन सक्ने विपक्षमा को छ र भन्ने प्रश्न पनि उठेको थियो । अहिले चाँहि भारतीय जनता पार्टी भित्रै मोदीको ठाउँ लिन सक्ने व्यक्ति को छ भन्ने प्रश्न उठ्न थालेको छ । तेस्रो पटक प्रधानमन्त्री बनेका मोदी आगामी वर्ष ७५ वर्ष पुग्नेछन् ।
लोकसभाको निर्वाचन अघि तिहाड जेलबाट जमानतमा निस्किएको समयमा गएको मे महिनामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मोदीमाथि प्रश्न गरेका थिए । भाजपामा ७५ वर्षको हुने जो कोहीलाई सेवा निवृत्ति दिइने भनेर सन् २०१४ मा मोदी आफैँले नियम बनाएका थिए । अब मोदीले के गर्छन् भनेर केजरीवालले भनेका थिए ।
यतिबेला भाजपाभित्र मोदीको उत्तराधिकारी को हुन सक्छ ? यसमा आरएसएस अर्थात् सङ्घको भूमिका के हुन सक्छ ? भनेर प्रश्न उठ्न थालेको छ । जब जब भाजपा कमजोर हुन थाल्छ तब तब पार्टीमा सङ्घको भूमिका बढ्ने जानकारहरू बताउँछन् । योगी आदित्यनाथ र केन्द्रीय गृहमन्त्री अमित शाहबिच मोदीको उत्तराधिकारी बन्ने राजनीतिक टकराव चलिरहेको छ भनेर अनुमान लगाउन थालेपछि यी प्रश्नहरू थप अहम् बनेका हुन् ।
कहाँबाट आयो ७५ वर्षको उमेरमा अवकाश लिने कुरा ?
सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री हुँदा लालकृष्ण आडवाणी र मुरली मनोहर जोशी जस्ता शीर्ष नेताहरूलाई संसदीय बोर्ड वा मन्त्रिपरिषद्मा स्थान दिइएन । दुवै नेताले मार्गदर्शक समितिमा मात्रै स्थान पाए । त्यतिबेला आडवाणी ८६ र जोशी ८० वर्षका थिए ।
बिपिचष्कजलब
सन् २०१६ को जुनमा मध्य प्रदेश मन्त्रिपरिषद् विस्तार हुँदा ७५ वर्षीय बाबूलाल गौर र सरताज सिंहले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । त्यसैगरी ८० वर्षीय पूर्व लोकसभा अध्यक्ष सुमित्रा महाजनलाई पनि कुनै जिम्मेवारी दिइएन । हिमाचलका नेता शान्त कुमारलाई पनि यसैगरी पाखा लगाइयो । ‘७५ वर्ष नाघेका नेतालाई चुनाव लड्न नदिन पार्टीमा न त कुनै नियम छ, न त परम्परा नै छ ।’ त्यसबेला अमित शाहले भनेका थिए ।
कर्नााटकको येदियुरप्पा ८० नाघेको व्यक्तिले पनि राज्यमा भाजपाको नेतृत्व गरिरहेका दृष्टान्त थियो । तर २०१९ को लोकसभा चुनावमा भाजपाले ९१ वर्षीय आडवाणी र ८६ वर्षीय जोशीलाई टिकट दिएन । अप्रिल २०१९ मा द वीकलाई दिएको अन्तरवार्तामा अमित शाहले भनेका थिए, ‘७५ वर्षभन्दा माथिका कसैलाई पनि टिकट दिइएन। । यो पार्टीको निर्णय हो ।’ अर्को पुरानो भिडियोमा शाहले ७५ वर्षभन्दा माथिका नेतालाई जिम्मेवारी नदिने निर्णय गरिएको बताएका थिए । विगतमा ७५ वर्ष कटिसकेपछि पनि कलराज मिश्र, नजमा हेपतुल्ला र अहिले जितनराम मांझीले मोदीको मन्त्रीमण्डलमा ठाउँमा पाएका थिए । मांझी भाजपाको सत्तारुढ गठबन्धनको हिस्सा थिए ।
मोदी आफैले मान्लान् ७५ को नियम ?
‘यो नियम त मोदी आफैँले बनाएका हुन् । यो नियम पालना गर्ने कि नगर्ने भन्ने कुरा उनीमाथि नै छ ।’ कुनै समय मोदीका चुनावी रणनीतिकार बनेका प्रशान्त किशोरले एक अन्तर्वार्तामा भनेका थिए । सङ्घ र बीजेपीको विचारधाराका समर्थक डा. सर्भोकमल दत्त बीबीसीलाई भन्छन्, ‘७५ वर्ष पुगेपछि यसमा विचार गर्ने कि नगर्ने भन्ने कुरा प्रधानमन्त्रीमा निर्भर छ । मानौँ, उनले स्वेच्छाले अवकाश लिन्छु भनेर सोच्छन् भने यो उनको निजी सोच हुनेछ । यो विचारमा सङ्गठनको तर्फबाट कुनै दबाब नहुने मेरो धारणा छ ।’
‘७५ वर्ष पुगेपछि मोदीले आफ्नो कार्यकाल पूरा नगर्ने वा सो भूमिका अरु कसैले निभाओस् भनेर सङ्घले चाहेको जस्तो लाग्दैन,’ बीजेपी, सङ्घ, अटल बिहारी बाजपेयी र योगी आदित्यनाथमाथि किताब लेखिसकेका वरिष्ठ पत्रकार विजय त्रिवेदी भन्छन् । भाजपामा मोदीको ठाउँ कसले लेला भनेर सङ्घले खोज्न चाँहि थालिसकेको हुन सक्ने आफूलाई लागेको त्रिवेदी बताउँछन् ।
कस्तो छ सङ्घ, भाजपा र नरेन्द्र मोदीको सम्बन्ध ?
उनी आकाशमा जति उचाइसम्म उफ्रिएपनि आउन त पृथ्वीमै पर्छ भनेर आरएसएसका दोस्रो प्रमुख संचालक माधवराव गोलवलकरले भनेका थिए । अप्रिल १९८० मा जनसंघको स्थानमा भारतीय जनता पार्टी अस्तित्वमा आयो । गोलवलकरले सो अभिव्यक्ति दिएको दशकौँ बितिसकेको छ, तर सङ्घले विगतमा आफ्ना नेताहरूलाई ‘आकाशबाट पृथ्वीमा’ ल्याउने धेरै उदाहरणहरू प्रस्तुत गरेको थियो । बलराज मधोक, जसवंत सिंह, लालकृष्ण आडवाणी र मुरली मनोहर जोशी यसका केही उदाहरण हुन् । यी ठुला नेताहरू बोझ बन्न थाले पछि सङ्घले तिनीहरूलाई तल झार्न कुनै ढिलाइ गरेको थिएन ।
हालैका महिनामा सङ्घका प्रमुख मनमोहन भागवतका दुई भनाइले पनि सङ्घको अडान नफेरिएको स्पष्ट पारेको छ । भागवतका बयानहरूमा कतै पनि पीएम मोदीको नाम लिइएको छैन, संघबाट आउने सन्देशहरू कसका लागि हुन् भनेर यकिन गरेर भन्नै सकिदैंन । तर ती बयान मोदीप्रति लक्षित होइन भनेर भन्न पनि गाह्रो छ ।
गएको चुनावहरूमा सङ्घले भाजपाका लागि पहिले जस्तो काम नगरेको सङ्घसँग जोडिएका कयौँ व्यक्ति र विज्ञहरूले भनेका छन् । सङ्घको सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको मतदाताहरूमा भाजपालाई मत हाल्ने विचार र वातावरण सिर्जना गर्नु हो । यो यही सङ्घ थियो जसको सहमतिमा नरेन्द्र मोदीले सन् २०१३ मा प्रधानमन्त्री पदको दौडमा आफूलाई अगाडि बढाउन सफल भएका थिए । अहिले त्यस्तो के भयो र सङ्घ प्रमुखको भनाइ नरेन्द्र मोदीको लागि लक्षित भएको र दुई बिच दूरी बढेको अड्कल तीव्र बन्यो ? सङ्घले २०२४ लोकसभा चुनावमा भाजपालाई २०१९ वा २०१४ मा जति सहयोग किन गरेन ?
सङ्घ र मोदीबीच दुरीको कुरा कहाँबाट आयो ?
‘सुरुमा हामी अयोग्य उनेछौँ, अलि थोरै पनि उनेछौँ । आरएसएसको आवश्यकता थियो । आज हाम्रो आकार बढेको छ । सक्षम छौँ भने भाजपाले आफैँले आफैँलाई चलाउने छ।’ सन् २०२४ को मेमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले भनेका थिए । नड्डाको यो भनाइले संघमा ठूलो आक्रोश पैदा गरेको विज्ञहरू बताउँछन् । नड्डाको बयानका कारण यस पटक संघमा आक्रोश उत्पन्न भएको र चुनावका बेला हुने प्रशिक्षण शिविर पनि यस पटक स्थगित नगरिएको एक पत्रिकाका सम्पादकले बीबीसीलाई भनेका थिए । तर रिसाउनुको कारण यति मात्रै होइन ।
‘हाम्रो पार्टी जेडीयूले भारतको प्रधानमन्त्री पदका लागि भाजपा संसदीय दलका नेता नरेन्द्र मोदीलाई समर्थन गर्दछ ।’ गएको जुन ७ मा नितिश कुमारले पुरानो संसदको सेन्ट्रल हलमा भनेका थिए । नितिशले मोदीलाई जुन संसदीय दलको नेता बनाउने कुरा गरेका थिए बीजेपी संसदीय दलको सो बैठक यसपटक भयो त ? जुन ४ को साँझ भाजपा संगठनका एक शीर्ष नेता र एक वरिष्ठ क्याबिनेट मन्त्री दिल्लीमा सङ्घको कार्यालयमा भेट्न गएका थिए । सङ्घले एकदमै हलुकासँगसंसदीय दलको बैठक बोलाउनुस् भनेपछि भाजपा संसदीय दलको बैठकको सट्टामा एनडीएको बैठक बोलाइएको बीजेपी–सङ्घ गठबन्धन कभर गर्ने एक वरिष्ठ पत्रकारले बीबीसीसँगको कुराकानीमा दाबी गरेका थिए ।
२०२४ को चुनावी नतिजा आएपछि भाजपाको वेबसाइटमा भाजपा संसदीय दलको नभएर एनडीएको बैठकसँग सम्बन्धित प्रेस विज्ञप्ति जारी गरिएको थियो । उही समयमा, सन् २०१९ मा भाजपाले ३०३ सिट जितेपछि चुनावी नतिजा आएको भोलिपल्ट मे २४ मा बीजेपी संसदीय दलको बैठक बसेको थियो ।
सङ्घको असन्तुष्टि र मनाउने प्रयास
संघलाई बुझ्ने मानिसहरूलाई विश्वास गर्ने हो भने आरएसएसले व्यक्तिभन्दा विचार वा संगठनलाई बढी महत्त्व दिन्छ । मोदीप्रति सङ्घ रिसाएको स्पष्ट देखिएको र पछाडिबाट राखेको हात बिस्तारै झिकिरहेको द आरएसएस–आइकन्सअफ इन्डियन राइट नामक पुस्तकका लेखक तथा वरिष्ठ पत्रकार निलांजन मुखोपाध्यायले बीबीसी हिन्दीलाई भनेका छन् । सङ्घले मोदीको नाम नकिटी उनको आलोचना गरिरहेको मुखोपाध्याय भन्छन् ।
तर मोदी र सङ्घबिचको दुरी धेरै बढेको छ भन्ने विश्वास गर्नु उचित हुनेछैन । २०२४ को चुनावी अभियानमा १० वर्षमा पहिलो पटक मोदीले नागपुरमा रात बिताएको खबर पनि आएको थियो । सङ्गठनभन्दा बढी महत्त्व व्यक्तिलाई दिँदै सिंगो मोदी पंथको प्रवर्द्धन नै आक्रोशको प्रमुख कारण थियो भएको मुखोपाध्याय बताउँछन् ।
जेपी नड्डालाई मोदी र शाहको मान्छे मानिन्छ । यस्तो अवस्थामा नड्डाले भाजपा आफैँलाई चलाउन सक्षम रहेको भनाइलाई पनि गम्भीरताका साथ लिइएको र यसलाई पूर्णतया उनको व्यक्तिगत भनाइ मान्न नसकिने विश्लेषण पनि आइरहेका छन् । जुलाईमा भाजपाले संघसँगको सम्बन्धमा मिठास घोल्ने प्रयास गरेको पनि देखियो । मोदी सरकारले सरकारी कर्मचारीलाई सङ्घको सदस्य बन्नमा लगाएको पाँच दशक पुरानो प्रतिबन्ध हटायो । थोरै सिट जितेर केही पनि फेरिएको छैन भन्ने भाजपाले देखाउन चाहेको स्रोतको निष्कर्ष छ । ‘न कोही मन्त्री परिवर्तन भएको छ, न सभामुख न त राष्ट्रपति नै परिवर्तन भएको छ, तर भाजपालाई थाहा छ कि सङ्घ रिसाएको छ । भाजपाले पुरै नझुकिकन सम्बन्धमा आएको दरार भर्ने केही प्रयास गरेको ती स्रोतको भनाइ छ ।
सङ्घका प्रवक्ता सुनील अम्बेकरले पनि सरकारको कदमको प्रशंसा पनि गरेका थिए । तर सायद सङ्घको आक्रोश यति धेरै थियो कि ९ जुलाईमा जारी यो आदेशपछि भागवतले १८ जुलाईमा सुपरम्यान र भगवानवाला बयान जारी गरे । प्रतिबन्ध हटाएपछि भागवतले दिएको बयानबाट मोदीले पाउनु पर्ने फाइदा पाएका छैनन् जस्तो लागेको मुखोपाध्याय भन्छ न् । ‘सङ्घको भनाइलाई ध्यानपूर्वक हेर्न जरुरी भएको र आलोचना कहिले खुला रुपमा आउँछ कि भनेर हेर्नु पर्ने उनको धारणा छ ।
खोज, तयारी र सङ्घर्ष
सङ्घका तर्फबाट यस्तो इशारा आएपछि नरेन्द्र मोदीसँग रिसाएको सङ्केत मिलिरहेको छ भने अर्कोतिर देशको राष्ट्रिय राजनीतिक मञ्चमा राहुल गान्धी, अखिलेश यादव जस्ता नेताहरूको उदय भइरहेको छ । मोदीको ढल्किँदै गइरहेको उमेर, जनताको बदलिँदो प्रवृत्ति र आफ्ना सहयोगीहरूको समर्थनमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार सञ्चालन यी सबैलाई विचार गर्दा मोदीलाई हटाउने जस्तो केही त नहुने तर अर्को अनुहारको खोजी, तयारी र विवाद सुरु भइसकेको जानकारहरू बताउँछन् ।
योगी आदित्यनाथलाई लिएर विगतमा उत्तर प्रदेशमा गरिएको अड्कलबाजीले यसलाई अझ बलियो बनाएको छ । बाबा (योगी)ले कुनै काम गरे भने दिल्लीका नम्बर–२ (शाह)ले डिस्टर्ब गर्छन् भन्ने कुरा आज चौराहेमा बसेका मानिसलाई पनि थाहा छ भनेर यूपीमा भाजपाका एक विधायकले बीबीसी हिन्दीलाई भनेका थिए । ‘अमित शाह पनि योगीलाई कसरी हटाउने भनेर सोचिरहेका तर उनले उचित अवसर नपाएको इलाहाबाद विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक डा पंकज कुमारले बीबीसीलाई भने । अमित शाहसँग व्यवस्थापन अधिकार हुनेछ तर जनताको नजरमा शाह कहिले पनि राम्रो साबित नहुने कुमार बताउँछन् ।
‘भाजपालाई मत दिनेहरुले मन पराउने भनेको मोदीपछि योगी मात्रै हुन् । यूपीमा मात्र होइन अन्य राज्यहरूमा पनि यस्तै छ । योगीको आकर्षण अमित शाहभन्दा बढी छ । यो योगीलाई पनि थाहा छ ।’ बीजेपीबारे समाचार लेख्ने एक वरिष्ठ पत्रकार भन्छन् । योगी आदित्यनाथ भाजपाका स्टार प्रचारकमा पनि थिए । नाथ सम्प्रदायको महत्त्वपूर्ण गोरखधाम मठका महन्त भएका कारण पनि योगी देशका विभिन्न भागमा लोकप्रिय छन् । ‘कुनै पनि गतिशील पार्टीमा यसलाई स्वस्थ प्रतिस्पर्धा भनिन्छ, लडाइँ होइन । यो आवश्यक र सकारात्मक छ,’ सङ्घप्रति झुकाव राख्ने डा. कमलसुर्व दत्त भन्छन् ।
योगी विरुद्ध शाह ?
हामीले सङ्घ, भाजपा, स्रोतहरू र धेरै वरिष्ठ पत्रकारहरूसँग कुरा गरेका थियौँ । अहिले चलिरहेको लडाइँ योगी र शाहबिच मात्रै हो भन्ने धेरैको भनाइ छ । यस्तो अवस्थामा सङ्घ कहाँ देखिन्छ ? ‘सङ्घ योगीको साथमा छ । शाह भने योगी हटे भने लडाई समाप्त हुन्छ भन्ने सोचिरहेका छन् । तर योगीको शीरमा सङ्घको हात यति बलियो छ कि उनलाई हटाउन मुस्किल छ,’ एक दैनिक पत्रिकाका सम्पादकले बीबीसी हिन्दीलाई भने । मोदीको चाहना आफ्नो ठाउँमा अमित शाहले लिउन् भन्ने छ । यताबाट शाह योगीको काममा हस्तक्षेप गरिरहेछन् । उता, योगीले पनि यतैबाट यिनीहरूलाई झट्का दिइरहेका छन् ।
वरिष्ठ प्रशासनिक अधिकारीहरू को लागी खिचातानी, यूपीमा स्मार्ट मिटर दौडमा अडानीको उपस्थिति हुनु र यसको टेन्डर रद्द हुनु सबै यस्ता घटना हुन् जसले योगी र मोदी सरकारबिच दूरी आइरहेको इशारा गर्छ । ‘अहिले अगाडि सुनिएको नाम योगी र शाहकै हो । योगी हिन्दुत्वको अनुहार हुन् भने मोदीको योजना कार्यान्वयनमा शाहको महत्त्वपूर्ण भूमिका रहेको छ,’ वरिष्ठ पत्रकार राकेशमोहन चतुर्वेदी भन्छन् । सन् २००९ मा नितिन गडकरीलाई भाजपा अध्यक्ष बनाउने, योगीलाई यूपीको मुख्यमन्त्री बनाउने वा जुन २००५ मा मोहम्मद अली जिन्नालाई धर्मनिरपेक्ष भन्दै आडवाणीबाट भाजपा अध्यक्षको कुर्सी खोस्ने भाजपासँग सम्बन्धित प्रमुख निर्णयहरूमा सङ्घको हात रहेको रहेको छ । योगी र शाहको सन्दर्भमा पत्रकार विजय त्रिवेदी भन्छन्, ‘कुनै निर्णय लिइन्छ भने त्यो सङ्घको सहमति, दिशानिर्देश र आपसी छलफलमा हुनेछ भन्ने मलाई लाग्छ ।’
सङ्घ कुन दिशातर्फ उन्मुख छ ?
यस्तो अवस्थामा अब प्रश्न उठ्छ कि यदि योगी विरुद्ध शाहको अनुमानलाई सहि मानिन्छ भने सङ्घको झुकाव को पट्टी छ ? यी मुद्दाहरूमा आधिकारिक वा सार्वजनिक रूपमा सङ्घले टिप्पणी गर्दैन । ‘समय आएपछि भाजपाले कसको बारे सहमति गर्ने भन्ने निर्णय गर्नेछ । यी सबै मामिलामा भाजपालाई कुनै सहयोग चाहियो भने सङ्घका अधिकारीहरू दलको सम्पर्कमा रहनेछन् । यस विषयमा कुरा राख्नेछन् । जे जस्तो सुझाव दिनु पर्ने हो दिनेछ । अन्तिम निर्णय भाजपाले लिनेछ ।’ सङ्घमा महत्त्वपूर्ण पदमा रहेका एक व्यक्तिले नाम न छाप्ने सर्तमा बीबीसी हिन्दीलाई भनेका छन् ।
‘कुनै परिवर्तन भइरहेको छ जस्तो हामीलाई लाग्दैन । मानिसहरू कुरा गरिरहनेछन्, आ–आफ्नो अन्दाज लगाइरहने छन्,’ अझ अगाडि उनले भनेका छन् । यही अड्कलबाजी बारे हामीले सङ्घ समर्थक डा कमलसुर्व दत्तलाई पनि सोधेका थियो । ‘मुख्य रूपमा हेर्ने हो भने मलाई लाग्छ कि मोदीको ठाउँमा महन्त योगी आदित्यनाथले लिनेछन् । उनको साथै हिमन्त विश्व सरमा, शिवराज सिंह चौहान, पियुष गोयल, अनुराग ठाकुर… …. जस्ता नेताहरु पनि छन् ।’ डा. कमलसुर्व दत्त भन्छन् । दत्तले कयां नेताको नाम लिए तर अमित शाहको नाम लिएनन् । यसबारे सोध्दा उनले मोदीपछि अमित शाह दोस्रो स्थानमा भएको अनि उनी पुरै देशमा चिनिने पनि बताए । उनको छवि निकै कट्ट नेताको भएको असिन उनलाई दोस्रो पङ्क्तिमा गणना गर्नु उचित भएको पनि उनले दत्ताले बताए ।
सङ्घको नजरमा योगी र शाह
भाजपा सङ्गठनमा अमित शाहको बलियो पकड छ । आवश्यकता परेको खन्डमा भोलि पार्टीमा आफ्नो पक्षमा बोल्न सङ्गठनभित्र पनि धेरै भन्दा धेरै आफ्नो मान्छे होस् भन्ने शाहको धारणा छ । शाह र मोदीलाई छुट्टाछुट्टै हेर्न मिल्दैन । दुवै पुराना साथी हुन् । तर, शाहसँग योगीसँग जस्तो जाति वा लोकप्रियताको फ्याक्टर नभएको मान्नेहरू पनि छन् ।
बmष्त
‘योगी आदित्यनाथ संगठनबाट माथि उठेका व्यक्ति होइनन् । भाजपामा उनको कहिल्यै हस्तक्षेप वा भूमिका थिएन । सङ्गठनका पदाधिकारीहरूले योगीलाई स्वीकार गर्न सकेका छैनन् ।’ वरिष्ठ पत्रकार प्रदीप सिंह भन्छन् । हिन्दुत्वको स्वर र बलियो आवाज भएकाले योगी आदित्यनाथलाई सङ्घ प्रमुख मोहन भागवतको आशीर्वाद रहेको आफ्नो पुस्तक योगी आदित्यनाथमा अतुल चन्द्र र शरत प्रधानले आफ्नो पुस्तकमा योगी आदित्यनाथमा लेखेका छन् । सन् २०१७ मा मोदीलाई यूपीमा आईआईटी स्नातक नेता मनोज सिन्हा भन्दा बलियो दाउ महन्त योगी हुने र त्यहाँ पार्टीको हिन्दुत्वको एजेन्डा स्पष्ट हुन्छ भनेर भागवतले नै मनाएका थिए । योगीले पनि बारम्बार यूपी र भारतलाई हिन्दु राष्ट्र बनाउने वा बनाइनेबारे बयान दिइरहेका छन् ।
‘माया, मोदी, आजाद’ पुस्तकका लेखक तथा राजनीतिक विज्ञ सुधा पाई र सज्जन कुमारले २०१७ मा एउटा लेख लेखेका थिए । ‘भाजपा–सङ्घको लक्ष्य मात्रै चुनाव जित्नु होइन, भारतलाई यो भन्दा बढी हिन्दु बनाउनु हो । ठूला दंगा नगरी हिन्दुत्वलाई आम जनताको नजरमा स्वीकार्य बनाउने र मुस्लिमहरूलाई अन्यको रूपमा प्रस्तुत गर्ने आइडिया हो । योगी आदित्यनाथले यो काम सफलतापूर्वक गर्दै आएका छन्। यस्तो अवस्थामा सङ्घले योगीलाई यस मामिलामा सफल व्यक्ति मानेको छ ।’ उक्त लेखमा भनिएको थियो ।
‘भाजपाले योगीलाई देशभर प्रचार अभियानमा पठाउँछ । उही समयमा, यूपीमा सत्ता सङ्घर्षमा सङ्घ योगीको साथमा उभिएको देखियो । यस्तो अवस्थामा योगीको सम्भावना राम्रो देखिन्छ ।’ पत्रकार विजय त्रिवेदी भन्छन् । तर योगी र शाहको सम्भावनाका बीचमा अरू केही नाम र बदलिँदो राजनीतिलाई पनि विचार गर्नुपर्नेछ ।
हिन्दुत्व वा जाति
गएको लोकसभाको चुनावमा जाति एक महत्त्वपूर्ण मुद्दा बन्यो । राहुल गान्धीलगायत धेरै विपक्षी नेताहरूले अझै पनि जातीय जनगणनाको मुद्दा निरन्तर उठाइरहेका छन् । यूपीको नतिजामा समाजवादी पार्टीको सफलताका लागि पिछडिएको, दलित र अल्पसंख्यक गठबन्धन निकै महत्त्वपूर्ण मानिएको थियो । विगत १० वर्षको राजनीति मोदी हिन्दुत्वको रथमा सवार देखिएका थिए । तर अहिले भारतीय राजनीतिले आफ्नो रथ परिवर्तन गरेको देखिन्छ ।
mयमष्द्द
राजनीतिक मुद्दाका रूपमा धर्म पछाडि र जात अगाडि आएको देखिने बीबीसी हिन्दी कार्यक्रम द लेन्समा वरिष्ठ पत्रकार नीरजा चौधरीले भनिन् । कट्टर हिन्दुत्वको टेम्प्लेट परिवर्तन भयो र लोकसभा चुनावमा जस्तै बीजेपी ओरालो लागिरह्यो भने, मोदी–योगीको टेम्प्लेट परिवर्तन हुन थाल्छ र मुद्दा परिवर्तन भयो भने सङ्घले तेस्रो व्यक्ति पनि ल्याउन सक्छ भनेर विज्ञहरू भन्छन् ।
मोदी, योगी, शाह होइन भने अरू को त ?
वरिष्ठ पत्रकार राकेश मोहन चतुर्वेदी गडकरी र राजनाथ सिंहको नाम लिन्छन् । दुवै जना यसअघि पार्टी अध्यक्ष भइसकेका छन्। राजनाथ मोदीको उमेरका हुन् । गडकरी अलि जवान छन् । उनी लोकप्रिय छन् र संघसँग पनि आबद्ध भएको उनी बताउँछन् । शिवराज सिंह चौहान यति लामो समयदेखि मुख्यमन्त्री छन् । त्यसैले उनी पनि लोकप्रिय नेताहरूमा पर्छन् । उनीसँग धेरै क्षमता पन भएको चतुर्वेदीको धारणा छ । तर, पार्टीसँग सम्बन्धित स्रोतले चाँहि मोदी र शाहले भाजपाभित्र आफ्ना मान्छे भरेका र उनीहरूले गडकरी वा शिवराज सिंहलाई अगाडि नबढाउने बताउँछन् ।
‘प्रश्न यो हो कि हिन्दुत्वको राजनीति हाबी रहन्छ कि अन्य पिछडिएको र ओबीसी राजनीतिले प्रभाव पार्छ ? यी दुई कुराले उत्तराधिकारीको नामलाई पनि असर गर्छ । जब जातीय राजनीति अगाडि आउँछ, उपलब्ध नामहरूमा शिवराज सिंह चौहानको नाम अगाडि देखिन्छ ।’ पत्रकार विजय त्रिवेदी भन्छन् ।
२०२९, सङ्घ, भाजपा र उत्तराधिकारी
उत्तराधिकारी प्रायः आफ्नैलाई बनाइन्छ । तर राजनीतिमा आफ्नोको परिभाषा परिवर्तन भइरहन्छ । ‘मोदीजस्ता नेताले अरू कसैलाई फल्न अनि फुल्न दिँदैनन्,’ पत्रकार पूर्णिमा जोशी भन्छिन् । तर सङ्घको भूमिका र तयारी यहीँबाट सुरु हुन्छ । निलांजन मुखोपाध्याय भन्छन्, ‘आजको मितिमा सङ्घ र भाजपाबीच राम्रो सम्बन्ध छैन । एबीवीपी, ट्रेड युनियन र किसान संगठनहरू जस्ता आरएसएससँग आबद्ध संगठनहरूले जनआक्रोशलाई कति हदसम्म प्रकट गरिरहेका छन्, बुझ्न आवश्यक छ ।’
यो बुझ्नको लागि, हामी केहि दिन पछाडि जाऔं । सन् २०२४ को जुलाई २७ मा दिल्लीमा मुख्यमन्त्री परिषद्को बैठक बस्यो । नजानेर सही अमित शाह र योगी आदित्यनाथ टेबलमा एकअर्काको निकटमा बसेका थिए । यी दुई नेताको बीचमा नरेन्द्र मोदी र बीजेपी अध्यक्ष जेपी नड्डा बसेका थिए । कतिपयलाई यो तस्बिर दौडको सुरुवाती रेखाको त्यो क्षण जस्तो लाग्न सक्छ, त्यसपछि ठुलो आवाज आउनेछ र नम्बर एक बन्ने दौड सुरु हुनेछ । राजनीतिको दौडमा स्वर्ण पदक प्रायः ती खेलाडीले जित्ने गर्छन्, जो प्रतिस्पर्धामै थिएनन् ।