युवालाई विदेश पलायन हुनबाट रोक्न जरुरी

चितवन/देशका युवालाई विदेश पलायन हुनबाट रोक्न जरुरी रहेकामा वक्ताहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज यहाँ भरतपुर महानगर युवा सञ्जालले आयोजना गरेको अन्तरक्रियामा सरकारले स्वदेशमै अवसरको सिर्जना गरेर युवालाई रोजगारीका लागि विदेशिनबाट रोक्नुपर्नेमा जोड दिएका हुन् ।

भरतपुर महानगरपालिका–२३ का दीपक लम्सालले युवालाई स्वरोजगार बनाउन तीनै तहका सरकारले अवसर सिर्जनामा लाग्नुपर्ने बताउनुभयो । स्वरोजगार बन्न चाहाने युवालाई स्थानीय सरकारले सहजीकरणसहित सहयोग गर्न सके विदेश पलायन हुनबाट रोक्न सकिने उहाँ भनाइ थियो ।
स्थानीय युवा सुरेन्द्र धितालले युवालाई कृषि क्षेत्रमा आकर्षण बढाउन सरकारले सहयोग र सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । युवालाई उद्यमशील बनाउन सके मात्रै देशको अर्थतन्त्र बलियो बन्ने र रोजगारीकै लागि विदेश पलायन हुने धारणा राख्नुहुँदै उहाँले तीनै तहका सरकारले भौतिक विकासका साथै युवाका लागि रोजगारीका अवसरमा सिर्जना गर्ने योजना ल्याउन सुझाव दिनुभयो ।
भरतपुर महानगरपालिका–११ की अस्मिता रेग्मी कुनै पनि सरकारले रोजगारीलाई महत्व दिन नसक्दा युवा विदेश पलायन हुनुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “रोजगारीकै लागि विदेशीनुपर्ने बाध्यता छ । अब स्थानीयदेखि प्रदेश र सङ्घीय सरकारले युवाका मुद्दा तथा रोजगारीका अवसर सिर्जना गर्न लाग्नुपर्छ । यस्तो गर्न नसकिए केही वर्षमै थप निराशा बढ्ने छ ।”

स्वरोजगारको तालिम लिएका युवाहरूसमेत विदेशिने गरेकाले त्यस्ता युवालाई स्वदेशमै व्यवसाय गर्ने वातावरण बनाउन सुझाव दिनुहुन्छ भरतपुर महानगरपालिका–२६ का सुदीप ढकाल । “तालिम दिने तर त्यसको सदुपयोग भयो वा भएन, समस्या के छन् भन्ने कुराको सोधिखोजी नहुँदा धेरै जना विदेशिने गरेका छन् । त्यसैले जुन उद्देश्यका लागि तालिम दिइएको हो त्यसको सदुपयोग गर्नेतर्फ पनि ध्यान दिनुपर्छ । त्यस्ता युवालाई स्वदेशमा नै राख्नका लागि वातावरण तयार गरिनुपर्छ”, उहाँले भन्नुभयो । रोजगारीको वातावरण नबन्दा युवाहरू दुव्र्यसनीमा फस्ने गरेको पनि उहाँले सुनाउनुभयो ।

महानगर प्रमुख रेनु दाहालले युवा लक्षित कार्यक्रममा आफूले जोड दिएको बताउनुभयो । युवालाई विदेशिनबाट रोक्न स्थानीय सरकारले मात्रै नभई प्रदेश र केन्द्र सरकारले काम गरिरहेको उहाँको भनाइ थियो । “युवाहरू वैदेशिक रोजगारोन्मुख हुँदा समाजमा युवा जनशक्तिको कमी हुन थालेको छ । त्यसैले युवामा पनि नेपालमै केही गर्छु भन्ने भावना विकास हुनुपर्छ, महानगरपालिकाले पनि युवालाई लक्षित गरी विभिन्न सीपमूलक तालिम दिँदै आएको छ । हामी स्वदेशमै केही गर्न चाहने युवालाई सहयोग गर्न तयार छौँ”, नगरप्रमुख दाहालले भन्नुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले महानगरपालिकाले हरेक काममा युवालाई अघि सार्दै आएको र स्वरोजगार बनाउनका लागि साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पनि जानकारी दिनुभयो ।

महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले स्वरोजगारको तालिम लिएका युवा उद्यमशिलतामा नलाग्नु दुःखद भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “स्वरोगारका तालिम लिएकालाई नै उद्यमी बनाउन सकिएको छैन । सबैको चाहान वैदेशिक रोजगारोन्मुख भएकाले पनि यो समस्या आएको हो ।”