विमान दुर्घटनास्थल तस्बिर स्रोत,EPA

ब्रजिलको साउ पाउलो राज्यमा एउटा विमान दुर्घटना हुँदा त्यसमा यात्रा गरिरहेका सबै ६१ जनाको मृत्यु भएको छ।

दुईवटा इन्जिन भएको उक्त विमान दक्षिणी राज्य पारानाको कास्काभेलबाट साउ पाउलो सहरको ग्वारुल्यूस विमानस्थलतर्फ जाँदै गर्दा भिन्हेदो सहरमा खसेको भोल्पेस एअरलाइन्सले जनाएको छ।

सामाजिक सञ्जालमा शेअर गरिएका भिडिओ फुटेजहरूमा उक्त विमान तलतिर ठाडो परेर खसेको देखिएको छ।

त्यसरी खस्दा उक्त विमान फनफन घुमिरहेको ती भिडिओहरूमा देखाइएको छ।

जहाज दुर्घटनापछि देखिएको धुवाँको मुस्लो

तस्बिर स्रोत,Reuters

एटीआर ७२–५०० विमानमा कुल ५७ यात्रु र चार जना चालक दलका सदस्य थिए।

स्थानीय अधिकारीहरूले दुर्घटनामा कोही बच्न सफल नभएको बताएका छन्।

ब्रजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पीडित परिवारप्रति दु:ख व्यक्त गर्दै उनीहरूको पीडा आफूले पनि महसुस गरेको बताएका छन्।

साओ पाउलो राज्यका गभर्नरले तीनदिने शोकको घोषणा गरेका छन्।

अधिकारीहरूले फ्लाइट डेटा रेकर्डर प्राप्त भएको बताएका छन्।

फ्रेन्च-इटालियन विमान निर्माता एटीआरले दुर्घटनाको अनुसन्धानमा सहयोग गर्ने बताएको छ।

उक्त विमान आवासीय क्षेत्रमा दुर्घटना भएको भए पनि स्थानीयवासी कोही पनि घाइते नभएको अधिकारीहरूले बताएका छन्।

त्यहाँको एउटा घरमा भने क्षति पुगेको छ।

भिडिओहरूमा उक्त घर भत्किएको र सो क्षेत्रमा आगो लागेको देखिन्छ।

घटनास्थलमा प्रहरी र अग्निनियन्त्रकहरू पुगेका छन्।

ब्रजिलको नागरिक उड्डयन निकायले के भन्यो?

दुर्घटनास्थल

उडानहरूको रेकर्ड राख्ने वेबसाइट फ्लाइटरेडार२४का अनुसार उक्त विमान स्थानीय समय अनुसार ११ बजेर ५६ मिनेटमा कास्काभेलबाट उडेको थियो।

त्यसको करिब डेढ घण्टापछि विमानसँगको सम्पर्क टुटेको थियो।

ब्रजिलको नागरिक उड्डयनसम्बन्धी निकायले सन् २०१० मा निर्मित उक्त विमान “सबै मापदण्ड पूरा गरेको” र राम्ररी चलाउन सकिने अवस्थामा रहेको बताएको छ।

उक्त निकायका अनुसार दुर्घटनाका बेला जहाजमा रहेका चालक दलका सबै सदस्यहरूले विधिपूर्वक इजाजत लिएका र योग्य थिए।

कास्काभेलको एउटा क्यान्सर अस्पताल बीबीसी ब्रजिललाई मृतकमध्ये उक्त अस्पतालका दुईजना प्रशिक्षार्थी चिकित्सकहरू पनि रहेको बताएको छ।

प्रत्यक्षदर्शीले के भने?                        उक्त यात्रुवाहक विमान खस्दै गरेको स्थानीयवासीले देखेका थिए।

“मैले विमान खसेको आवाज सुनेपछि घरको झ्यालबाट बाहिर हेर्दाहेर्दै त्यो दुर्घटना भएको देखेँ,” प्रत्यक्षदर्शी फिलिपे म्यागाल्हेसले रोएटर्स समाचार संस्थासँग भनेका छन्। उनले उक्त दृश्य देखेपछि आफूलाई “त्रसित बनाएको” पनि बताएका छन्।

त्यहाँकै अर्की एक स्थानीयवासीले सीएनएन ब्रजिललाई आफूहरू खाना खाइरहेका बेलामा “ठूलो आवाज” सुनेको बताइन्। उनीहरूले सुरुमा त्यसलाई ड्रोनको आवाज जस्तो ठानेका थिए तर त्यो “धेरै ठूलो” थियो।

उनले भनिन्, “म कौसीमा गएँ र विमान फनफन घुमिरहेको देखेँ। मलाई एकै छिनमा लागिहाल्यो- यो विमान सामान्य अवस्थामा छैन।”

सन् २००७ पछि यो ब्रजिलमा भएको सबैभन्दा घातक विमान दुर्घटना हो।

सन् २००७ मा त्यहाँ टीएएम एक्सप्रेस विमान साउ पाउलोको कन्गोन्हास विमानस्थलमा दुर्घटना हुँदा १९९ जनाको मृत्यु भएको थियो। बिबिसीबाट